Thursday, June 27, 2013

जंगलको खोचमा भेटेको मास्टर, मास्टर्नी र म

Bagaman Kulung
Photo in 2008 with Bhojpore Khukuri
कुरा सन् २००८ को हो । काठमाण्डौं विमानस्थलबाट यती एयरले लुक्लाको लागी १५ डिग्रीमा आफुलाई सोझ्याउन थालेपछि मैले मेरो सिटको पेटी कसे । ३५ मिनेट पछि लुक्लामा ओर्लेर खानाको लागी छत्रदाईको होटल गएको थिएँ । खाना खाने क्रममा म एक्लै हिड्ने जंगल र खोँचको बाटोमा चोरको बिगविगी बढेको सुनाईयो । कसैको हिजो मात्र सुनको सिक्री खोसियो अरें । कसैको पैसा लुटियो अरें आदि इत्यादी । त्यही बाटोमा हाम्रो गाँउको चन्द्र दाईलाई माओवादी द्वन्दकालमा डाकाहरुले मारेको चाही म आफैलाई पनि थाँहा थियो ।गरिबी निवारण कोष र विश्व बैंकको सहयोगमा चल्ने एउटा परियोजना, त्यसको काम चाही त्यही बाटोभरीको होटल व्यवसायीहरुलाई पर्यटन व्यवसाय सम्बन्धी तालिम दिनुपर्ने अनि म त्यस परियोजनाको एकाउण्टेन्ट थिएँ । जंगलको बाटो हुदै ३ बजेतिर म पैया भन्ने गाँउसम्म पुग्दा बाटोमा समय समयमा टुम्लिङटारबाट आउने युरोपियनहरुको केही टिमबाहेक मान्छेहरुसंग भेट्ने क्रम ज्यादै पातलिएको मैले महशुस गरे । पैयामा खाजा खाने होटलका साहुनी दिदीले पनि सुरक्षामा होस् गर्न भनेपछि भने मलाई ठुलै झोक चल्यौ । औंद्योगिक मेला भृकुटी मण्डपमा किनेको मेरो लामो भोजपुरे खुकुरी कम्मरमा भिरें, कार्यक्रमको पेश्की दुई लाख पचास हजारलाई पनि कम्मरभित्रै लुकाएँ । कानमा सामसुङसेटको एयरफोन छिराएर र धिरज दाईको पप गीत बजाएँ, अनि हिडँे पपको तालमा ।

झोँकमा पाइला छिटै चलेछ म त चारै बजे पो मेरो बासस्थान सिबुजे पुगेछु । सिँबुजे गाँउदेखि अर्को गाँउ गाईखर्क पुग्न २ घण्टा लाग्दो हो त्यो पनि सिस्नो टिप्ने १५ डिग्रीको चिम्टालाई आकासतिर पल्टाए जस्तो ठाँउ । पहिला ओरालो अनी नाकै थोकिने उकालो । मैले सिबुजेमै बास बस्ने निर्णय गरेँ । करिब २० घर जतिको सिबुजे शेर्पा गाँउमा न्युजिल्याण्डका एक संस्थाले सहयोग गरेको विद्यालय भवनमा फर्निचरको काम गर्ने खरीखोलातिरबाट झिकाईको ३ जना सिकर्मीदाईहरु नभएको भए मैले त्यस गाँउमा १५ वर्षभन्दा माथीको एक जना पनि पुरुष छैन भनेर माटोको कसम खान्थेहोला । धेरै शेर्पा दाईहरु विदेशीसंग सम्बन्ध विस्तार गरेर युरोपतिर रहेछ । कोही काठमाडौंतिर रहेछ । बाँकी रहेकाहरु पनि फुल सिजन परेकोले ट्रेकिङमा हिमालतिर रहेछन् । मैले उक्त गाँउको सबैभन्दा राम्रो लजमा बास मागें । शेर्पाभाषामा साहुनीले छोराछोरीहरुसंग केही गनठन गरेपछि बाँस पाइयो तर के विषयमा गनठन चल्यौ बुझिएन । समय घाम अस्ताउदो बेलाको थियो, वरिपरीका सेताम्मे हिमालहरुमा घाँमको किरण थियो, गाँउको मुनि इङखु खोला सुस्ताउदै थियो । केही विदेशी पाउनाहरु सिद्विनै लागेका घामका किरणहरुको भरपुर सदुपयोग गर्दै चौरमा बसिरहेका थिए । मैले दुरबिन र क्यमेरा वरिवरी सोझाएँ । त्यो मेरो कार्यालयको कामै थियो ।

केही क्षणपछि त्यस होटलमा गाँउका सबै महिलाहरु भेला हुन थाले । मानौं त्यहाँ आमा समूहको बैठक शूरु हुदैछ । त्यसबीचमा दुईजना दाईहरु पनि आए । तर साहुनीले ति मध्येका एकजनालाई साह्रै गाली गर्दै थियो । के भनेर गाली गरेको हो मैले पटक्कै बुझिन उनीहरु शेर्पा भाषामा बोलिरहेका थिएँ । तर जवाफमा त्यो पुरुषले ‘के गर्ने बाउजु गप गर्ने बानी’ भन्दै थियो । एकक्षण पछि मैले चिनेको र हाम्रो संस्थाले होटल व्यवस्थापन तालिम अगाडि नै दिईसकेको याङजी दिदी त्यो घरमा आईपुग्नुभयो । हामीले एकअर्कालाई अभिवादन ग-यौ र बोल्यौ । उनीहरुले शेर्पा भाषामै कुरा गरिरहेको थियो । तर बीचमा एकाउण्टेन्ट र मेरो संस्थाको नाम सुनेपछि मेरै बारेमा कुरा गरिरहेको मैले अड्कल गरेँ । फिस्स फिस्स हास्दै मैले पनि शेर्पा भाषा बुझ्छु नि भनेको थिएँ । उनीहरुले माफी पो माग्न थाले । कारण त के रहेछ भने अघिदेखि मलाई त त्यस गाँउमा चोर पो सोचिरहेका रहेछन् र पो आमा समूहको बैठक जस्तो देखिने गरी आमाहरु भेला हुँदा रहेछन् । हुन पनि मैले चाही मेरो भोजपुरे खुकुरी पनि फुकाउनै पो बिर्सेको हरेछु । मेरो दुरबिन र क्यामेरा पनि विदेशी पर्यटकहरुको चोरेको अनुमान गरेछन् क्यारे ।

 त्यस पुरुषले गाली खानुपर्ने कारण चाही अर्कै रहेछ । नेचा सल्यानतिरको एकजना महिला त्यो जंगलको खोचमा मास्टर काम गर्दा रहेछिन् । त्यस स्कुलमा ति दुई शेर्पाहरुले फर्निचरको काम गर्दा रहेछन् । उनीहरुलाई धेरै भाषा आउदो रहेछ । अनि ति मास्टर्नीले चाही यसरी भाषा जान्नुको रहस्य सोधेकी रहेछिन् । गप गर्ने बानी परेको भन्ने सिकर्मीले चाही आफु भाषा सिक्दै केटी पट्याउन माहिर भएको र अब क्षेत्रीनी मात्र बाँकी रहेको कुरा सुनाएछन् । त्यो कुरा सुनेपछि ति अनकन्टार जंगलको खोचको विद्यालयको ती क्षेत्रीनी मास्टर्नीलाई चाही पर्नु पिर परेको रहेछ र म बसेको घरको साहुनीलाई उजुरी दिएको रहेछ । अनि पो साहुनीले चाही बोलाएरै गाली गर्नु पर्ने अवस्था आएको रहेछ ।

भोली पल्ट बिहानै म त्यस ठाँउबाट हिडेँ । त्यसदिन म बुङ पुगेँ । त्यहाँ हाम्रो कार्यालय थियो । त्यहाँ धेरै मानिसहरु बस्छन् । मलाई कुनै समस्या थिएन तर मेरो अर्को काम चाही साल्पाको जंगल हुदै टुम्लिङटारसम्मको होटल सर्भे गर्न जानु पर्ने थियो । तर म संग मेरो कार्यालयको अर्को साथी हिडेपछि मैले सहज महशुस गर्दै थिएँ । बुङबाट एक दिनको हिडाई पछि हामी सानाम भन्ने अर्को शेर्पा गाँउ पुग्यौ । त्यस जंगलको खोचमा हामीले भेट्यौ अर्को मास्टरसाप् । ऊ बेलुका ४ बोटल रक्सी खान्थ्यौ अनि मात्र भात खान्थ्यौ । भोली बिहान हामीले चिया खायौ तर उसले कुनै हिच्किचावत बिना फेरी रक्सी खायो । बिहानभरी हिड्दा हामीलाई भोकले प्याक प्याक बनाइसकेको थियो तर त्यहाँ नजिकमा कुनै होटलहरु थिएन । दश बज्न लागेको बेला त्यही मास्टरसाप्को स्कुलनेरको गाँउमा हामी आईपुग्यौ । हामीले भए भरको खानेकुरामा अपसन् नराखी खान थाल्यौ । तर मास्टरसापले फेरी त्यही कुरा पिउनुभयो । मास्टरसापसंगको हाम्रो भेट अब अन्त हुदै थियो । हामी साल्पाको जंगलतिर जाँदै थियौ । मैले बडो आदर्शका साथ भुमिका मिलाएर मेरो साथीलाई भने । त्यो बिचरा तराईको मान्छे, यस्तो हिमालको जंगलको खोँचमा प्रा.वि.को मास्टर गर्नु छ । परिवार भेट्न दशै कुर्नु पर्छ । पढाई नभएरै यहाँ पढाउनुपरेको हो, आफ्नो मान्छे भएको भए र घुस खुवाउन पैसा भएको भए ऊ यहाँ पढाउदैनथे । परिस्थितीले त उसलाई यहाँ पु-यायो नै तर झन त्यसमा रक्सी चाही किन खान्छ ? मेरो भूमिका सकिन नपाउदै मेरो साथीले थप्र्यौ क्यारेम्बोर्ड र तास खेल्न पनि २ जना त चाहिन्छ’ । ऊ एक्लै छ के गरोस् त ? ओःहोः मेरो त आदर्श र उत्तर नै हरायो यो जवाफले ।

यसो सोचेँ त्यो मास्टर्नी, यो मास्टर र म मा के भिन्नता छ ? कुनै एनजिओ, आइएनजिओ कर्मीहरु तारे होटलमा मिटिङ गरेरै बिताउछन् । उनीहरु बिदेश भ्रमण गर्छन् । डलरमा तलब थाप्छन् । प्रोपोजल आवहान गर्छन् । मन परेकालाई दिन्छन् नत्र नदिदाँ पनि भयो । कुनै मास्टरहरु बिहान, दिउसो, बेलुका ट्युसन पढाउन पाउछन् । नजिकै कलेज भए उनीहरुको योग्यता बढाउछन् । सके राजनीतिक गरेरै पनि तलब पाउछन् । हामीमा चाही न पत्रपत्रिका, न बि.बि.सि, न टेलिभिजन, न फोन (त्यतिबेला फो थिएन) । अनि मैले निचोड दिएँ । ती मास्टर, मास्टर्नी र म मा कुनै फरक छैन । फरक भए ऊ डराउछिन् म डराउदिन । ऊ खान्छ म खाँदिन ।