Wednesday, January 15, 2014

पर्यटन बजारमा प्रतिस्पर्धा गर्न हिमाली केबलकार

वागमान कुलुङ
  • थाई एयरवेजले ३ सय ३५ डलर (करीब ३० हजार)मा काठमाडौं बैङ्कक राउण्ड टिकटको अफर गरिरहँदा हामी पैदल १० दिनमा पुग्न सकिने मुस्ताङ र नाम्चे घुम्न पर्यटकलाई उत्प्रेरणा दिइरहेका छौं, जब कि काठमाडौंबाट बैङ्कक आज गएर भोलि फर्कन सकिन्छ । विश्वका १ सय ९५ देशका १ हजार ३ सय २८ एयरपोर्ट छन् । यिनमा दैनिक २१ हजार ९ सय उडान  हुन्छन् । यो हवाई व्यापार गर्ने २८ ओटा विमान कम्पनीको सङ्गठन स्टार सञ्जालमा थाई एयरवेजको ठूलो अंश छ । उसले सो सञ्जालमार्फत संसारभरिका पर्यटक आफ्नो देशमा सस्तोमा थुपार्छ । हाम्रो नेपाल वायुसेवा निगमले दैनिक पाँचओटा देश (थाइल्याण्ड, भारत, दुबई, हङकङ र मलेशिया)मा उडान गर्छ । यो विश्व पर्यटन बजारमा नेपालले गरिरहेको प्रतिस्पर्धाको एउटा उदाहरण मात्र हो । हामी विश्व पर्यटन बजारको प्रतिस्पर्धात्मक वातावरणभित्र रहेर यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षको सकारात्मक प्रचार गरी  पर्यटन उद्योग चलाइरहेका छौं, पर्यटक बोलाइरहेका छौं । कहिले हामी पर्यटन वर्षको पोष्टर भित्ताभरि टास्छौं, कहिले होम स्टे चलाउँछौं, गुम्बा, मठमन्दिर आदिको विज्ञापन दिन्छौं । जसोतसो हाम्रो पर्यटन व्यवसाय चलिरहेको छ ।
  • हामीसँग संसारमै कम मात्र पाइने भौगोलिक अवस्था, जातीय र सांस्कृतिक विविधता भरिपूर्ण छुट्टै महत्वका पर्यटकीय गन्तव्य स्थल छन् । तर पनि हामी किन विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं ? यसको प्रमुख कारण यहाँ पुग्ने सहज पहुँचको अभाव नै हो । सहज पहुँचको अभावका पछाडि आर्थिक र भौगोलिक कठिनाइ प्रमुख छन् । हाम्रो प्रमुख हिमाली पर्यटकीय क्षेत्र दोलखाको तामाकोशी उपत्यकादेखि पूर्वको अरुण उपत्यकासम्मको भौगोलिक अवस्था हेर्ने हो भने त्यस बीचमा तामाकोशी, खुम्बु, इङ्खु, हुङ्गा र अरुण उपत्यका गरी पाँचओटा उपत्यका छन् । तर, भौगोलिक कठिनाइका कारण ती सबै उपत्यकाको भ्रमण गर्न पर्यटकलाई करीब ३ महीना लाग्छ ।
  • दोलखाको चरिकोटबाट सिँगटी, जगत, छो–रोल्पा ताल हुँदै गौरीशङ्कर हिमालको आधारशिविर पुगिन्छ । उक्त ठाउँबाट खुम्बु उपत्यकाको पहिलो गाउँ थामे निस्कन कम्तीमा ५ हजार ७ सय मिटर उचाइ रहेको टासिलाप्चा भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ । हिमाल आरोहण गर्न तालीम प्राप्त ट्रेकरहरूले मात्र यो भञ्ज्याङ पार गर्न सक्छन्, पर्यटक जोकोहीले त्यो भञ्ज्याङ पार गर्न सक्दैनन् । त्यसैले उनीहरू जुन भञ्ज्याङभित्रको हिमालय शृङ्खलाको दृश्यावलोकन गरेर गएका हुन्छन्, त्यहीँबाट चरिकोट फर्कनुपर्ने बाध्यता छ । उनीहरूलाई खुम्बु उपत्यका पस्न इच्छा भए जिरी, लुक्ला, नाम्चे भएर थामे पुग्नुपर्ने हुन्छ । यसका लागि पर्यटकले कम्तीमा थप २२ दिन खर्चनुपर्ने हुन्छ । थामेबाट छिकुङसम्मका खुम्बु उपत्यकाभित्रका सयौं हिमशृङ्खलाहरूको दृश्यावलोकन गरी सेतीपोखरी हुँदै हुङ्गा उपत्यकाभित्र प्रवेश गरेर बरुञ्जे, मेरा, चाम्लाङजस्ता दर्जनौं चर्चित हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यसका लागि उनीहरूले अर्को ५ हजार ८ सय मिटर उचाइको आम्फुलाप्चा भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ । त्यो पनि टासिलाप्चाजस्तै सबै पर्यटकको पहुँचमा छैन । यो भञ्ज्याङ पार गर्न नसक्नेले  थप १ महीना लगाएर नाम्चे, लुक्ला, कोठे, नौलेख, खहरे हुँदै त्यस भञ्ज्याङभित्र प्रवेश गर्नुपर्ने हुन्छ । सोही तरीकाले हुङ्गा उपत्यकाको सेतीपोखरीबाट अरुण उपत्यका प्रवेश गर्न ६ हजार १ सय ३५ मिटर उचाइको शेर्पेनीकोल भञ्ज्याङ पार गर्नुपर्छ ।  इङ्खु उपत्यका प्रवेश गर्न ५ हजार ४ सय १५ मिटरको मेराला पार गर्नुपर्ने हुन्छ । संसारका प्रख्यात हिमालहरू नेपालको यही पाँचओटा उपत्यकाभित्र रहे पनि त्यसको अवलोकन गर्न सहज पहुँचको अभाव छ ।
  • यी भौगोलिक कठिनाइलाई सहज बनाई बढीभन्दा बढी पर्यटकलाई हिमालतिर आकर्षित गर्न १० वर्ष लाग्ला, २० वर्ष लाग्ला । तर, हामीले दोलखाको टासिलाप्चा, सोलुखुम्बुको आम्फुलाप्चा र सङ्खुवासभाको शेर्पेनीकोल भञ्ज्याङमा तीनओटा हिमाली केबलकारको विकास गर्न सके पर्यटकले टासिलाप्चा, थामे, नाम्चे, छिकुङ, सेतीपोखरी, मकालु आधारशिविर हुँदै करीब २ हप्तामै संसारका प्रख्यात हिमालहरूको अवलोकन गरी सङ्खुवासभाको तुम्लिङटार पुग्नेछन् । यसले नेपालको पर्यटन विकासलाई संसारको अन्य पर्यटकीय गन्तव्यसँग सजिलै प्रतिस्पर्धामा लग्नेछ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा यस्ता हिमाली उपत्यका जोड्ने केबलकारहरूको विकास गर्न जरुरी छ । संसारका थुप्रै पर्यटकीय ठाँउमा यस प्रकारको केबलकारको विकास गरिएको पाइन्छ । हिमाली केबलकारको विकास गर्न सकेनौं भने हामीले विदेशी पर्यटक गुमाउने निश्चित छ । विदेशी पर्यटक जहाज र रेलमा थाइल्याण्ड गई सेतोहात्ती चढ्ने कि नेपाल गएर होम स्टे गर्ने तुलनात्मक अध्ययन गर्छन् र आफ्नो फाइदाअनुसार योजना बनाउँछन् । त्यसैले विश्व पर्यटन बजारमा हाम्रो प्रतिस्पर्धात्मक उपस्थितिका लागि हिमाली क्षेत्रमा केबलकार सञ्चालन गर्नुपर्छ  ।
  •  http://www.abhiyan.com.np/article-dristikone_21poush2070_paryatan#.UtZOctIW1Ol 
  • - लेखक पहाडी विकास तथा संरक्षण समूह नेपालका कोषाध्यक्ष र पर्यटन विकास शाखाका संयोजक हुन् ।