Wednesday, July 30, 2014

सेतीपोखरीबाट मुद्धि र केन्पा पदमार्ग ४ जिल्लाको पर्यटन विकासका लागि

नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशीको एउटा मुहान सेतीपोखरी हो । खुम्बु उपत्यका अन्र्तगत सोलुखुम्बु खुम्जुङको छिकुङबाट ५८०० मिटर उचाईमा रहेको आम्फुलाप्चा भञ्ज्याङ पार गरेर दक्षिणतिर मोडिएपछि सेतीपोखरी उपत्यकाभित्र सेतीपोखरी ताल भेटिन्छ । त्यही सेतीपोखरी रहेको उपत्यकाभित्र बरुञ्जे, चाम्लाङ, मेरा, हुंगु चुली १, हुंगु चुली २, चारपाटे लगायतका दर्जनौं हिमशिखरहरु छन् । उक्त उपत्यकाको पूर्वतिरको ६,१३५ मिटरको उचाईमा रहेको शेर्पेनीकोल भञ्ज्याङ पार गरे मकालु हिमाल हुदै सेदुवा भएर टुम्लिङटार निस्कन सकिन्छ भने दक्षिण पञ्चिमतिरको ५,४१५ मिटरको मेराला भञ्ज्याङ पार गरे मेरा हिमालको आधारशिविर हुदै इङ्खु उपत्यकाभित्रको बुङको नौंलेख गाँउ निस्कन सकिन्छ । त्यस्तै सेतीपोखरीबाट आमाडब्लाङको फेदी हुदै मिङबोला ५,८१५ मिटर पार गरे आमाडम्लाम्को फेदी भएर खुम्जुङको टेङबोचे गाँउ निस्कन सकिन्छ । सेतीपोखरी उपत्यका औसतमा ४,८४० मिटरको उचाईमा रहेको एउटा मनोरम उपत्यका भए पनि निस्कन र फर्कन सकिने अहिलेको विकल्पहरु यी ४ वटा भञ्ज्याङ पार गर्नु नै हो । दर्जनौ हिमालहरु त्यस उपत्यकामा रहनु र बहुचर्चित अपर ग्रेट हिमालयन ट्रेल पनि त्यही उपत्यकाहुदै आउनुले ट्रेकिङ सिजनमा सेतीपोखरी उपत्यका एउटा चर्चित शहरभन्दा कम्ती झिलीमिलीको हुदैन । 

माथि उल्लेख गरिएका त्यस उपत्यकाबाट फर्कन सकिने ४ वटा विकल्पहरुमध्ये मेराला भञ्ज्याङ तुलनात्मकरुपमा सबैभन्दा कम्ती उचाईको विकल्प हो । यो उपत्यकामा पुगेका पर्यटकहरुले हिमपात परेको बेला र बिरामी पर्दा उक्त भञ्ज्याङ पनि पार गर्न नसके हेलिकप्टरबाट उद्वार गर्नु पहिलो र अन्तिम बिकल्प हुन जान्छ । कतिपय ट्रेकिङ कम्पनीहरुले हेलिकप्टर पठाउदैनन् तर कतिपय अवस्थामा हिमपात परेको बेला पठाईएका हेलिकप्टर पनि बस्न सक्दैनन् । यस्तो बेला धेरै पर्यटनकर्मीहरु खासगरी भरियाको अकालमा ज्यान जाने गरेको छ । 

सेतीपोखरी उपत्यकाको सेतीपोखरी तालबाट बग्ने हुंगाखोला छेस्काम भएर पावैको दुधकोशीमा मिसिन्छ । सेतीपोखरीबाट त्यही खोलाको किनारै किनार खोङमाडिङमा, वातेल्मा दोवान, सग्गोल दोवान, जुरेकोम, लोनाम्छी हुदै छेस्कामको मुद्धिसम्मको पर्यटन पदमार्ग निर्माण गर्न सके मुिद्वबाट छेस्काम चोकसम्मको बाटो बनिसकेको अवस्थाको छ । यो खोलाको किनारै किनारको बाटो मुलतः मकालु बरुण राष्ट्रिय निकुञ्जभित्रको सबैभन्दा बाक्लो जंगल र जंगली जनावरको अवलोकन भ्रमणको लागि उपुक्त हुनेछ । यसबाहेक खोङमाडिङमाबाट दक्षिणतिरको गौबित्ता हिमश्रृखलाको तिवागैरी,तोहोबारी, बगालेदेउराली हुदै केन्पासम्मको बाटो निर्माण गर्न सके उक्त ठाँउबाट मार्मेकु हुदै गुदेल आउने, बोक्सुवार हुदै छेस्काम आउने र चित्रे हुदै संखुवासभाको शिसुवा पुग्ने बाटो बनिसकेको अवस्थाको छ । सेतीपोखरी ४,८४० मिटरबाट खोङमाडिङमा ४७७० मि., बगालेदेउराली ४,४८३ मि. हुदै केन्पाडाँडा ३,९५० मिटरमा आईपुगिने हुँदा यो मार्ग पनि लेक लागेको पर्यटकको लागि सामान्य उद्वारमार्गकै रुपमा प्रयोगमा आउनेछ । यसबाहेक यो पदमार्ग भएर आउदा डाँडैडाँडा हिमालको दृष्यावलोकन गर्न सकिने भएकोले यो पदमार्ग पनि उत्तिकै महत्वपुर्ण मानिनेछ । 
सेतीपोखरीबाट हिमपात परेको बेला यी दुवै पदमार्गहरु भएर पर्यटकहरु केन्पा वा मुद्धिसम्म आए त्यसले एकातिर उद्वारमार्गको काम गर्छ भने अर्कोतर संखुवासभाको पञ्चिमक्षेत्र, भोजपुरको पुर्बीक्षेत्र, सोलुखुम्बुको तल्लो भेग र खोटाङको उत्तरक्षेत्रलाई लाभान्वित गर्नेछ । सेतीपोखरीबाट यी दुई पदमार्ग भएर मुद्वि र केन्पा आइपुगेका पर्यटकहरु सोलुखुम्बुको, छेस्काम बुङ, सोताङ, पावै, देउसा, मुक्ली,काँगेल, नेले, गार्मा, सल्लेरी, नेचा हुदै काँगेलडाँडा, फाप्लु वा रुम्जाटार जान सक्नेछन् । त्यसै गरी छेस्कामको मार्मेकु, गुदेल, लोखिम हुदै खोटाङको बाकाचोल, ऐसेलुखर्क, माक्पा, जाल्पा, महेश्वरी, हैनचौंर, कुभिण्डे, खार्पा र लामिडाँडा हुदै लामिडाँडा र खानिडाँडा विमानस्थल जान सक्नेछन् । यसबाहेक गुदेल, भोजपुरको साल्पा, दोभाने,खाताम्मा, चौंकीडाँडा, कुलुङ हुदै वा संखुवासभाको शिसुवा,बाला, ताम्कु, माङटेवा, शितलपाटी र खाँदबारी हुदै टुम्लिङटार जान सक्ने सम्भावना रहेको छ । भविष्यमा यी दुईवटा पदमार्गले सृजना गर्ने सम्भावित सञ्जालहरु हेर्दा सोलुखुम्बुका १३ वटा गा.वि.सका ११३७४ घरधुरीका ५१,१३२ जना, संखुवासभाका ६ वटा गा.वि.सका ९,५९८ घरधुरीका ४१,७८८ जना, भोजपुरका ४ वटा गा.वि.सका २,७२८ घरपरिवारका १३,१११ र खोटाङका ९ वटा गा.वि.सका ४,८६९ घरपरिवारबाट २२,६४० गरी जम्मा २८,५६९ घरपरिवारका १,२८,६७१ जना जनसंख्यालाई यसले प्रत्यक्ष फाईदा पुग्ने देखिन्छ ।   
       
स्थानीय स्तरबाट यी दुवै पदमार्ग निर्माणको पहल हुदै आएको छ । सेतीपोखरीदेखि मुद्धिसम्मको पदमार्ग निर्माणको लागि स्थानीय गैरसरकारी संस्था पहाडी विकास तथा संरक्षण समूह नेपालले पहल गर्दै आएको छ भने संखुवाभाको मकालु मेरा शिलुचोङ पर्यटन विकास केन्द्रले सेतीपोखरीदेखि केन्पासम्मको लागि पहल शूरु गरेको छ । उक्त २ वटा बाटो निर्माण गरी सामान्य प्रचारप्रसार गर्न रु. १ करोड ५६ लाख ५९ हजार ९४८ लाग्ने जिल्ला प्राविधिक कार्यालय संखुवासभा र सोलुखुम्बुको लागत प्रतिवेदन समेतको आधारले देखाएको छ । क्रमिक रुपमा भईरहेको तल्लो क्षेत्रको सडक विकासले तल्लो भेगबाट पदयात्रा शूरु गर्नुपर्ने बाध्यता पनि छ । त्यसैले यी ४ वटा जिल्लाका सरोकारवालाहरुबाट यस क्षेत्रको पूर्बाधार विकासमा जोड दिनुपर्ने पर्ने हो तर प्रयाप्त भईरहेको छैन ।  

वागमान कुलुङ 
संयोजक 
पर्यटन विकास शाखा 
पहाडी विकास तथा संरक्षण समूह नेपाल