Monday, December 28, 2015

हामीले बुझेको पर्यटन

सन् १९५५ देखि १९७५ सम्म भियतनाम र अमेरिकाबीच ठुलो युद्ध भयो । यसलाई भियतनाम युद्ध भनेर चिनिन्छ । यस अवधीमा थाल्याण्डले अमेरिकन सेनालाई आफ्नो भूमी प्रयोग गर्न दियो । त्यहाँ ठुलो अमेरिकन सेनाको तालिम केन्द्र खडा भयो । यस अवधीमा धेरै अमेरिकन सेनाहरुले थाई महिलाहरुसंग पैसामा शारिरिक सम्पर्क गरे । त्यसपछि थाइल्याण्डमा महिलाहरुलाई पैसा दिएर शारिरिक सम्पर्क गर्नु सामान्य सस्कारको रुपमा विकसित हुदै गयो ।त्यसपछि थाइल्याण्डमा महिलालाई पैसा दिएर शारीरिक सम्पर्क गर्नु सामान्य संस्कारका रूपमा विकसित हुँदै गयो । त्यही संस्कारले आज थाइल्याण्ड संसारकै यौन पर्यटनको पहिलो गन्तव्य मानिन्छ । त्यहाँ ३० लाख महिला यौन व्यवसायीको रूपमा काम गर्छन् । मानिसहरू थाइल्याण्ड घुम्ने पर्यटकलाई धेरथोर यौनको खोजी गर्दै हिँड्ने पर्यटकको आशङ्काले चित्रण गर्छन् । थाईहरू पर्यटकलाई धेरथोर यौनको प्यासले भौंतारिएको मान्छेका रूपमा हेर्छन् । यो पर्यटनप्रति थाईहरूको सोच हो ।

संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो । अमेरिकाले सन् १८५० मा योेसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो । वन्यजन्तु र झरनाहरूको कारणले यो १८औं शताब्दीमा विश्वचर्चित भयो । आज वार्षिक ३७ लाख पर्यटकले यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन् । सन् १८६० मा अमेरिकाले अमेरिकाका प्रमुख शहरहरू जोड्ने अत्याधुनिक रेलमार्गको विकास गर्‍यो । त्यसपछि मानिसहरू त्यसबेला उक्त रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायित भए । यसपछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरूको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो ।
नेपालका गाउँ होस् वा शहरका अधिकांश मानिसको बुझाइमा पर्यटन भनेको ट्रेकिङ गर्नु हो र ट्रेकिङ गर्नु भनेको भारी बोक्नु हो । भारी बोक्नु भनेको नपढेका वा पढ्न नसक्नेहरूले गर्ने पेशा हो । यसकारण पढेलेखेका युवाहरू यसमै करीअर बनाउन रुचाउँदैनन् । धेरैजसोले ट्रेकिङलाई जागीर नपाउँदासम्मको पेशा वा बाध्यताको पेशाको रूपमा लिइरहेका छन् । गाउँघरतिर एउटा अर्को समूह छ, जो हिमालतिर सडक पुगेको कुनै हालतमा पनि मन पराउँदैनन् किनभने, भारी बोक्ने पेशा खोसिन्छ । अहिले पनि पर्यटनबाट बढी फाइदा लिन सोलुखुम्बुको लुक्लादेखि माथि सडक यातायात जोडिनु हुँदैन भन्नेहरू र सडक यातायातको विकासले अन्नपूर्ण क्षेत्रमा लामो पर्यटन पदमार्गहरू मासिएर हामीलाई ठूलो घाटा लाग्यो भन्नेहरू धेरै छन् । त्यसो भए नेपालीहरूका लागि पर्यटकलाई भौतिक सुविधाविना दुःख दिई पैसा कमाउनु नै पर्यटन हो त ? यसबाहेक पर्यटक आए होटल व्यवसाय फस्टाउँछ भन्ने मुट्ठीभरका केही जना होलान् । आखिर नेपालीहरूमा यो धारणाको विकासचाहिँ कसरी भयो ?
चौभारको गल्छी काटेर पोखरीको रूपमा रहेको काठमाडौंलाई बस्नयोग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रूपमा आएको विदेशी मानिन्छ । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ । यद्यपि, नेपालीहरूको विद्यमान पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो ।
राजकीय भ्रमणबाहेक सन् १९५१ सम्म नेपाल आउन कुनै पनि सर्वसाधारण विदेशीहरूलाई अनुमति थिएन । सन् १९५५ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरू ल्याउन पहिलोपटक अनुमति पाएका थिए । बोरिसलाई दिइएको यो अनुमतिसँगै संस्थागत रूपमा नेपालमा विदेशी पर्यटक ल्याउन शुरू गरिएको हो । सन् १९६० मा संसारमा १४ ओटा ८ हजारभन्दा माथिका हिमालहरू छन् र त्यसमध्ये ८ ओटा हिमालहरू नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्यको रूपमा संसारभर चिनिँदै आएको छ ।
सन् १९६० को दशकमा यूरोपेली देशहरूमा लागूपदार्थ ओसारपोसार र सेवनविरुद्धको कानूनहरू ल्याउने लहरै चल्यो यद्यपि, नेपालमा भने यो कानून सन् १९७३ मा मात्र आयो । यसबीच युद्धविरुद्ध मत जाहेर गर्ने यूरोपेली युवाहरू यूरोपका तर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौं र भारतको गोवाजस्ता क्षेत्रहरूमा स्वतन्त्रपूर्वक गाँजा खान आउँथे । यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल÷गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो (नेपाल एडभाइजर) । यसले झण्डै त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रूपमा पनि चिनियो, यद्यपि हाल नेपाल पर्वतारोहणको केन्द्र भनेर नै चिनिन्छ ।
पर्वतारोहणको केन्द्रको रूपमा चिनिएपछि एकपछि अर्को पर्वतारोहीहरू नेपालका हिमालहरू चढ्नका लागि आउन थाले । नेपालीहरूले ती पर्यटकहरूको भारी बोकेर हिमालसम्म पु¥याउने काम गरेर आयआर्जन गर्न थाले । त्यसबेला सोलुखुम्बुको सगरमाथा क्षेत्र जान बनेपाको धुलिखेलबाटै भारी बोकेर जानुपर्ने थियो । जनतालाई सरकारबाट खासै पर्यटन शिक्षा दिने कार्य पनि भएन । त्यसैले, हामीले बुझेको पर्यटन भारी बोकेर हिमालतिर जानु भन्ने भयो । समयको क्रमले बाटो धुलिखेलबाट, खाडीचौर, जिरी, सल्लेरी हुँदै लुक्लासम्म आउन खोज्दा हामीले हाम्रो पर्यटन सिद्धिरहेको बुझ्यौं । अन्नपूर्ण क्षेत्रमा सडक जानु हाम्रो पर्यटनका दिनहरू गएको अर्थमा बुझ्यौं । नेपालमा हिमाल जाने पर्यटक बढी आउने भएकाले पर्यटन भनेको ट्रेकिङ बुझ्यौं अनि ट्रेकिङ भनेको भारी बोक्ने काम बुझ्यौं । झन् यो नपढेका व्यक्तिले गर्ने पेशा भनेर बुझ्यौं ।
यस धारणाले सक्षम व्यक्तिहरूको प्रवेशलाई निरुत्साहित गरी ट्रेकिङसँगै नेपालीहरूको फोटोपत्रकारिता जोडिएन, लेखन कार्य जोडिएन र विदेशी कूटनीति पनि जोडिएन । फोटोपत्रकारहरूको पेशा ट्रेकिङ भइदिएको भए नेपालका कति राम्रा राम्रा पर्यटकीय क्षेत्रका फोटाहरू सङ्कलन गर्थे होलान् ? लेखकहरूको पेशा ट्रेकिङ भइदिएको भए नेपालबारे कति किताबहरू छापिसक्थ्यौं होला ? कूटनीतिमा ज्ञान भएकाहरूले ट्रेकिङ गरेको भए आफूसँग हिँड्ने विदेशी व्यापारी, पत्रकार र लेखकहरूलाई कति कुरा मिलाएर नेपालबारे व्याख्या गर्थे होलान् ?
पर्यटनलाई अमेरिकी अवधारणाबाट बुझेको भए आज हामीले जति हिमालतिर सडक यातायात गयो त्यति मात्रामा विदेशी पर्यटकहरू आउन सजिलो र सस्तो हुने भएकाले पर्यटकको सङ्ख्या बढ्छ भन्ने सोच्थ्यौं । पर्यटकको सङ्ख्या बढ्यो भने उनीहरूबाट हुने खर्च बढ्छ । खर्च बढेपछि भारी बोक्न नपाउनेहरूले अन्य विभिन्न कार्यहरू गरेर भारी बोकेको भन्दा बढी पैसा कमाउन सकिन्छ भन्ने बुझ्थ्यौं होला । एकपटक सोचेर पर्यटनमा हाम्रो धारणा परिवर्तन गर्ने हो कि ? 
आर्थिक अभियान राष्ट्रिय दैनिकबाट साभार