Monday, April 4, 2016

नेपालमा रसियाली पर्यटक ल्याउने अवसर

फ्रान्स, अमेरिका, स्पेन, चीन र इटालीपछि टर्की संसारको छैटौं र मध्यपूर्वको पहिलो बढी पर्यटक भिœयाउने देश हो । करीब ३ करोड ९८ लाख पर्यटक ल्याएर सन् २०१४ मा टर्कीले यो अन्तरराष्ट्रिय रेकर्ड कायम गरेको थियो । यसरी यो देश भ्रमण गर्नेमा जर्मनपछि रसियाली पर्यटक बढी थिए । २०१४ मा मात्र करीब ४४ लाख ७९ हजार रसियाली पर्यटकले टर्कीको भ्रमण गरेका थिए ।
संसारका पर्यटक र त्यसमा पनि रसियालीहरूको प्रमुख गन्तव्य टर्कीमा गतवर्षको मध्यतिरबाट निरन्तर युद्ध र अशान्ति फैलिँदै आएको छ । जुन ५, २०१५ मा कुर्दिश फ्रिडम ह्वाक्सले स्वायत्तताको माग गर्दै चार जनाको ज्यान जाने गरी एउटा शक्तिशाली विस्फोट गराएको थियो । विश्व पर्यटनको केन्द्र टर्की यतिले खासै अत्तालिएन । तर, त्यसको १ महीना नबित्दै जुलाई २० मा ३३ जनाको ज्यान जाने गरी अर्को आतङ्ककारी हमला भयो ।
त्यसको २ महीना नबित्दै अक्टोबर १० मा १ सय २ जनाको ज्यान जाने गरी अर्को इस्लामिक आतङ्ककारी हमला थपियो । क्रमशः त्यसको २ महीनापछि डिसेम्बरमा मात्र दुईपल्ट र त्यसपछि २०१६ को पहिलो ३ महीनाभित्रमा चारपल्ट गरी जम्मा छपल्ट टर्कीले आतङ्ककारी हमलाको सामना गर्नुपरेको छ । हालै मार्च १३ मा ३७ जनाको ज्यान जाने गरी भएको हमलापछि त टर्कीले एक्लै अन्तरराष्ट्रिय आतङ्कवादको सामना गर्न सक्दैन भन्ने तर्कसमेत अन्तरराष्ट्रिय जगत्ले गर्न थालेको छ ।
जेहोस् गतवर्ष यता युद्धले मध्यपूर्व र त्यसमा पनि टर्कीमा नराम्ररी पर्यटकीय वातावरण त्रासमय बनाएको छ । यसै सन्दर्भमा गत नोभेम्बरमा रूसले सिरियामा इस्लामिक आतङ्कवादी कारबाहीका लागि पठाएको आफ्नो युद्धविमानलाई विना अनुमति टर्कीको आकाशमा उडाएको भन्दै सीमाक्षेत्रमा टर्कीको सेनाले खसालेपछि यी दुई देशबीच राजनीतिक विवाद बढेको छ ।
यस कारणले पनि टर्कीमा रूसी पर्यटकले अरू देशका भन्दा बढी असुरक्षित महसूस गर्छन् । विगत केही महीनादेखि टर्कीमा भइरहेको यसप्रकारको द्वन्द्वले त्यहाँ एकाएक लाखौंलाख पर्यटक घट्ने अनुमान गरिएको छ ।
त्यसो भए मध्यपूर्वका यी लाखौं सङ्ख्याका पर्यटक अब कहाँ जान्छन् ? के उनीहरूले घुम्न छोडिदिन्छन् ? छोड्दैनन् । यूएन विश्व पर्यटन सङ्गठनका अनुसार २०१५ मा करीब ४ प्रतिशतले विश्व पर्यटकको सङ्ख्यामा वृद्धि भई हाल वार्षिक करीब १ अर्ब २० करोड पुगेको छ भने यो वर्ष पनि उत्तिकै अनुपातमा विश्व पर्यटकको सङ्ख्यामा वृद्धि हुनेछ । संसारका प्रायजसो पर्यटन विज्ञहरूले २०१६ भरि ल्याटिन अमेरिकामा झिङ्कालगायत प्रकोपका डरले, मध्यपूर्वमा युद्धका कारणले र ग्रीस आसपासमा विदेशी शरणार्थी समस्याका कारणले पर्यटकको सङ्ख्यामा ठूलो कमी आउने अनुमान गरेका छन् । उनीहरूका अनुसार हालैको युद्धग्रस्त मध्यपूर्वका पर्यटक त्यहाँको वातावरण र सुविधासँग मिल्लोजुल्दो तर इस्लामिक युद्धले नछोएको देशहरूमा मोडिनेछन् । उनीहरूले त्यस्ता देशहरूमा यूरोपका स्पेन र आसपासका क्षेत्र प्रमुख हुनसक्ने अनुमान गरेका छन् ।
यद्यपि एशियामा यी पर्यटक मोडिने ठाउँहरू कहाँकहाँ हुन सक्छन् ? सम्भवतः ठूला पर्यटन बजारको हिसाबले हेर्दा चीन, मलेशिया, सिङ्गापुर, थाइल्याण्ड, भियतनाम र भारत हुन सक्छ । तर, हालै इस्लामिक स्टेटविरुद्ध रूसले सिरियामा गर्दै गरेको सैन्य हमलाका कारण चीनमा बाहेक इस्लामिक स्टेटको धेरथोर गतिविधि सञ्चालन भइरहेका यी देशमा पनि रूसी पर्यटकहरूले आफूलाई पूर्ण सुरक्षित महसूस गर्न सकेका छैनन् । त्यसको पछिल्लो उदाहरण रूसी सरकारले आफ्नो नागरिकलाई इस्लामिक स्टेटबाट रसियालीहरू भारत र थाइल्याण्डमा समेत उत्तिकै सचेत रहनुपर्ने भनेर गरेको सजगता पनि हो ।
मध्यपूर्वको युद्धले लाखौं पर्यटक अन्यत्र मोडिइिरहेको अहिलेको यो परिस्थितिमा हामीले नेपाल अन्तरराष्ट्रिय आतङ्कवादको क्रियाकलाप शून्य देशका रूपमा मात्र प्रचार गर्न सक्यांै भने पनि नेपालमा रसियालीलगायत अन्य देशका थुप्रै पर्यटक भित्र्याउन सकिन्छ । सरकारी निकायले चातुरतापूर्वक रसियाली पर्यटकहरू नेपालमा ल्याउन उनीहरूलक्षित विशेष किसिमको प्रवद्र्धनात्मक कार्यक्रमहरू तत्काल चलाउन सक्नुपर्छ ।