Monday, May 21, 2018

पर्यटन बोर्डको नेपाल बिज्ञापन

 This article was published in Arthik abhiyan National news Paper on 12/10/2016

वागमान कुलुङ

आफ्ना पदाधीकारीहरुमाथीको मुद्वाले गतवर्ष यतिबेला ‘नेपाल पर्यटन बोर्ड’ अगाडी बिनियोजित साना–तिना बजेट निकाशा गर्न समेत नसक्ने कमजोर अवस्थामा थियो । प्रमुख कार्यकारी अधिकृत नियुक्तीको लामो अदालती झन्झटबाट मुक्ति पाएपछि त्यस पदमा नयाँ नियुक्तीसंगै यो वर्ष बोर्डले अरु बर्षहरुभन्दा प्रभावकारी कामहरु गरिरहेका छन् । हालसम्म बोर्डले अन्य सरोकारवालाहरुसंगको सहकार्यमा अन्र्तराष्ट्रिय बुद्विष्ट सम्मेलन, चाइना मिसन्, अतिथी देवो भवः लगायतका कार्यक्रमहरु गरिसकेको छ । नेदरल्याण्ड, जापान, युके लगायतका देशहरुमा नेपालीहरुले नेपालको पर्यटन प्रमोशन गर्ने कार्यक्रमहरुमा हातेमालो गरिरहेको छ । जनसम्पर्क अधिकृतहरु तोकेर वा गैरआवासीय नेपालीहरुको सञ्जालमार्फत बोर्डले बिदेशी भूमिमा नेपालको प्रचार गर्न खोजिरहेको छ । यसबाहेक बोर्डले हालै करिब १० करोड खर्च गरेर बिबिसी वा सो स्तरको अन्र्तराष्ट्रिय मिडियामार्फत र करिब ६ करोड खर्च गरेर चिनिया र भारतीय टेलिभिजनहरुमार्फत नेपाली पर्यटनको प्रचारप्रसार गर्ने निर्णय गरेको छ । यतिका सरकारी रकम खर्च गरेर बनाईने यो विज्ञापनले नेपालबारे कम्तिमा ६ वटा सकारात्मक सन्देशहरु दिन सक्नुपर्दछ । भूकम्पपछि नेपाल पुर्ण सुरक्षित भएको सन्देश, नेपाल अन्र्तराष्ट्रिय आतंबादका गतिविधी शुन्य मुलुक, आउदो पर्यटन वर्षमा नेपालले पर्यटकहरुलाई दिने प्रमुख सहुलियतहरु, विभिन्न भाषाभाषी र संस्कृतिको मुलुक, गौतम बुद्व र हिमालको देश आदी । यसबाहेक नेपाल चराचुरुङ्गी र भौगोलिक बिविधताको देश पनि हो ।

अहिले संसारका पर्यटकहरुको गन्तब्य डाइभर्ट गर्ने प्रमुख कारक तत्व अन्र्तराष्ट्रिय आतंकवादका गतिविधीहरु भईरहेका छन् । संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनको प्रतिवेदन अनुसार २०१६ को पहिलो ४ महिनामा टुनिसिया, टर्की र इजिप्टबाट मात्र अन्र्तराष्ट्रिय आतंकवाद्का गतिविधीले गतवर्षको पहिलो चार महिनाको तुलनामा ५१ लाख पर्यटकहरु अन्य देशहरुमा डाइभर्ट भईसकेका छन् । संगठनको प्रतिवेदन अनुसार ती पर्यटकहरु युरोपका स्पेन, पोर्चुगल, इटाली, माल्टा र बुलगारियातिर डाइभर्ट भईरहेका छन् । युरोपका यी सहरहरु आफैमा दैनिक लाखौ पर्यटकहरु प्रवेश गर्ने व्यस्त सहरहरु हुन् । त्यसो त अहिले ठुला मानिसहरुको हुल जम्मा भएका युरोपका सहरहरुमा पर्यटकहरुले धेरथोर आतंकवादको हमलादेखि डराइरहनु परेको छ । उदाहरणले लागी पेरिसमा आगामी महिनामा शुरु हुने युरो कपमा संसारका लाखौ पर्यटकहरु आउनेछन् तर त्यही अवसरमा अमेरिकाले फ्रान्सलाई अन्र्तराष्ट्रिय आतंकवादी हमला हुन सक्ने भन्दै सजक रहन भनेको थियो । त्यसको केही दिनमै उक्त युरो कपमा बिस्फोटको योजना बनाईरहेका एकजना आतंकवादी कार्यकर्ता युक्रेनमा पक्राउ परेको छ । संसारका प्रमुख पर्यटकीय गन्तव्यहरुमा यसरी आतंवादी हमलाको त्रास उत्पन्न भईरहेको अवस्थामा नेपाल इतिहासमै यस्ता गतिविधी शुन्य भएको शान्त मुलुक हो भन्ने सन्देश विश्व जगतलाई दिन जरुरी छ । हुन त अमेरिकी प्रतिवेदनले नेपाल भारत खुल्ला सिमा र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको कमजोर चेकिङ प्रणालीका कारण यस्ता गतिविधीमा संलग्नहरु नेपालमा लुक्न सक्ने भनेर सजक गराएको छ । सरकारको ध्यान त्यस क्षेत्रमा जानसक्नुपर्छ । हालैको ग्लोबल पिस इन्डेक्स प्रतिवेदनमा नेपाल दक्षिण एसियामा भुटानपछि दोस्रो शान्त मुलुक भनेर आएको छ । शान्त देशको यो साख बचाउन सक्यौ भने संसार आतंकवादले सताइरहेको बेला हामीलाई पर्यटनमा राम्रो गर्दै जानेछ र यसलाई बचाएर प्रचारमा जान जरुरी छ ।

अर्को महत्वपुर्ण कुरा सरकारले २०१८ लाई पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको अवस्थामा पर्यटन वर्षमा पर्यटकहरुलाई दिइने विषेश सहुलियतहरु के के हुन् ? सरकारले त्यसको निर्णय गरेर सार्वजानिक गर्न ढिला गर्नुहुदैन । खासगरी अरु भ्रमण वर्ष जस्तै पर्वतारोहण रोयल्टी, प्रवेश शुल्क, भिसा शुल्क आदिमा छुट दिने हो भने बेलैमा सार्वजानिक गरेर पर्यटन बोर्डलाई प्रचारको लागी जिम्मा दिइनुपर्दछ । पर्वतारोहण लामो समयको तालिम र ठुलो बजेटसहित आयोजना गरिने भएकोले पर्वतारोहीहरुले आगामी २ वर्षको योजना अहिले नै शुरु गर्ने हुँदा सरकारले सहुलियतबारे निर्णय गर्न र प्रचार गर्न ढिला गर्नु हुदैन् ।

विज्ञापन दिँदा हाम्रा कमजोरी पक्षहरुमाथी पर्यटकहरुबाट उठेका प्रश्नहरुको पनि सन्तोषजनक उत्तर मिलेको हुनुपर्दछ किनभने नेपाललाई एसियाको महंगो हवाईभाडा भएको देश भनेर पनि चिनिन्छ । हवाईभाँडा महंगो भए पनि खान र बस्ने खर्च संसारका प्रमुख पर्यटकीय गन्तब्यहरुभन्दा तीन गुणा सस्तो छ । बोर्डले चलाखीपुर्ण तरिकाले यो सन्देश दिन सक्नुपर्दछ । यसबाहेक हाम्रो हवाईमैदान संसारको खराब मैदानहरुको लिष्टहरुमा आउछ भने हाम्रो राजधानी संसारकै प्रदुषित शहरहरुमा गनिन्छ । बोर्डले यी सबै कुराहरुलाई मिलाएर चलाखीपुर्बक आफ्नो विज्ञापनहरुमा समावेश गर्न सक्नु पर्दछ ।

बोर्डको प्रचार रणनीति अनुसार सोह्र करोड रुपैयाको यी फरक ३ बिज्ञापनहरु पहिला चिनिया टेलिभिजन, भारतीय टेलिभिजन र बिबिसीमार्फत प्रचारण हुनेछन् । त्यसपछि त्यही बिज्ञापनलाई सामाजिक सञ्जालहरुमार्फत ब्यापकरुपमा प्रचार गरिनेछ । तर सामाजिक सञ्जाल भन्नाले एउटा पश्चिमा सामाजिक सञ्जालहरु जस्तै फेसबुक, ट्विटर, युट्युव, व्वाट्स अप आदि र अर्का चिनिया सामाजिक सञ्जालहरु जस्तै वेइवो, क्युजोन, पेङयु, रेनरेन, काइछिन्, विच्याट आदि पर्दछन् । भारतीय र हामी नेपालीहरुले प्रयोग गर्ने सामाजिक सञ्जालहरु यी पश्चिमा सामाजिक सञ्जालहरु हुन जसलाई चीनमा प्रतिबन्द गरिएको छ र उनीहरुको आफ्नै यी सामाजिक सञ्जालहरु छन् । भारतमा हिन्दीमा बज्ने बिज्ञापन र बिबिसीमा अंग्रेजीमा बज्ने बिज्ञापनलाई हामी संसारभरीका नेपालीहरुले आफुले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमार्फत प्रचार गर्दा त्यसले बोर्डको रणनीति अनुसार काम गर्छ तर ठुलो खर्चमा बनाईएका चीनिया भाषाका बिज्ञापनलाई हाम्रो समाजिक सञ्जालहरुमार्फत मात्र प्रचार गर्ने हो भने त्यसले चीनिया पर्यटकहरुसम्म पु¥याउन सक्दैन ।

टेक्नोलोजी इन एसिया नामक मेगाजिनका अनुसार यी चीनिया सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमध्ये चीनमा मात्र ५९ करोड ७० लाख रहेका छन् जोसंग हामी समाजिक सञ्जालमार्फत सम्पर्कमा छैनौं । त्यस्तै हाल बार्षिक १२ करोड चिनिया पर्यटक बिश्व बजारमा छन् । यसले चीनिया पर्यटकसम्म हाम्रो सन्देश पुग्न जरुरी छ तर सामाजिक सञ्जालमार्फत पुग्न सजिलो छैन भन्ने देखाउछ । यस्तो अवस्थामा चीनका ख्याती प्राप्त कलाकार, खेलाडी, धार्मिक नेता जस्ता प्रतिष्ठित ब्याक्तिहरुलाई नेपालले पर्यटन दुत, पर्यटन सहयोगी वा के भनेर हुन्छ, कुन स्तरको ब्यक्तिलाई सकिन्छ नियुक्ती गरेर उनीहरुको सामाजिक सञ्जालमार्फत प्रचार गराउने हो भने लाखौंलाख उनीहरुको फ्यानहरुसम्म हाम्रो बिज्ञापनहरु समाजिक सञ्जालमार्फत एकैसाथ पुग्नेछ । यो रणनीति भारतीय पर्यटकहरुसम्म पुग्नको लागी पनि प्रयोग गर्न सकिन्छ । तर प्राविधिक कारणले चीनिया समाजिक सञ्जालमा भने हामीले प्रयोग गर्नै पर्ने आवश्यकता छ ।