Friday, October 12, 2018

चौथो चरणमा नेपालको प्रचार

वागमान कुलुङ

यूरोपमा धेरैजसो ८०–९० वर्षका बूढापाकाहरूले म नेपालबाट आएको हुँ भन्दा नेपाल चिन्दैनन् । सगरमाथाको देशभन्दा पनि तिनले नबुझ्न सक्छन् । चीन र भारतबीचको देशभन्दा बल्ल अघि नै हिमालय भन्नु नि भन्छन् । हामीले नेपाल चिनाउने एउटा कुरा हो, तर संसारले कसरी बुझ्छ त्यो अर्को कुरा हो । यूरोपमा एउटा लोकप्रिय लघुकथा छ ‘टिनटिन’ । १९२० ताका धेरै चर्चामा आएको यो कथाको पात्र एउटा कुकुर लिएर विभिन्न देश हुँदै घुम्ने क्रममा नेपाल आइपुग्छ र तिब्बततिर जान्छ । तर, विडम्बना कथामा नेपाललाई हिमालय भनिन्छ, नेपाल भनिँदैन । यो कथाले नेपाललाई यूरोपभरि चिनायो, तर हिमालय भनेर ।

१९६० ताका यूरोपभरि गाँजा खान प्रतिबन्ध लगाउने कानून बन्दै गयो । तर, नेपालमा १९७३ मा मात्र गाँजा प्रतिबन्धको कानून बन्यो । गाँजा चरेस खान प्रतिबन्ध भएपछि गाँजाको नशा लागिसकेका त्यसबेलाका यूरोपेली युवा स्वतन्त्रपूर्वक गाँजा खान नेपाल र भारतका गोवा क्षेत्रसम्म आइपुग्थे । मध्यपूर्वका देशहरू हुँदै यूरोपबाट नेपाल आउने उक्त मार्गलाई त्यसबेला ‘हिप्पी ट्रेल’ भनेर चिनिन्थे । अहिले पनि धेरथोर यूरोपेलीहरूले नेपाललाई गाँजा चरेससँग जोडेर बुझ्ने गर्छन् ।

हिमालय र ‘हिप्पी ट्रेल’पछि तेस्रो चरणमा नेपाल हिमालको देश भनेर चिनियो । तर, फेरि हिमालले मात्र चिनियो । १९९९ मा सडक नपुगेका डोल्पाका जनताले नून खान पनि ज्यानको बाजी लगाएर तिब्बतको बाटो हिँड्नुपर्ने कथा समेटिएको एउटा फिल्म निर्माण भयो ‘क्याराभान’ । क्याराभानले ओस्कार पुरस्कार जितेपछि संसारको ध्यान आकर्षित हुने नै भयो । तर, यसले नेपाल अभावैअभाव भएको हिमाली राज्य भनेर पनि चिनायो । यूरोपमा अहिले पनि नेपालको कुरा गर्दा थोरै असुविधासँग जोडेर म त हिमालमा हिँड्नै सक्दिनँ भन्नेहरू धेरै भेटिन्छन् । नेपाल आएर फर्केकाले साथीभाइहरू माझ आफू फुर्तिलो भएको गर्व गर्छन् । जेहोस् हिमालको मात्र एकोहोरो रटानले नेपाल जानु भनेकै हिमाल हेर्न हो र हिँड्न सक्नेहरूका लागि मात्र हो भन्ने गलत सन्देश गइरहेको छ । यसमा हाम्रो विज्ञापन शैली पनि दोषी छ ।

हामीले अबको २ वर्षमै थप १० लाख पर्यटक ल्याएर २० लाख पु¥याउने भनिरहेका छौं । यही दशकभित्रै ३५ लाख पु¥याउने पनि भनिरहेका छौं । तर, हिमालले मात्र यति पर्यटक तान्छ र ? के संसारमा हिमाल मन नपराउने मान्छेहरू पनि छैनन् होला ? हिमाल भनेका सोलुखुम्बु, मनाङ, मुस्ताङ, सङ्खुवासभा, ताप्लेजुङ, दोलखालगायत एक दर्जन जिल्ला मात्र हुन् । के ३५ लाख पर्यटक एक दर्जन जिल्लामा अट्लान् ? के झापा, सुनसरी, सप्तरी, कैलाली वा कञ्चनपुरतिर विदेशी पर्यटक जानै नहुने हो ? के तराईका जिल्लाहरूमा विदेशी पर्यटकले रुचाउने कुनै वस्तु नै छैनन् ? त्यसैले नेपालमा पर्यटकको सङ्ख्या बढाउने हो भने हिमालबाहेक पर्यटनका अन्य विषय पनि थप्न सक्नुपर्छ । यी विषयमध्ये सांस्कृतिक पर्यटन एउटा प्रमुख विषय हुन सक्छ । खेल पर्यटन अर्को विषय हुन सक्छ । नेपाल जानु हिमाल जानु मात्र होइन वा हिँड्न सक्नु मात्र होइन, बरु हिँड्नै पर्दैन आरामदायी गाडीमा हिमाल हेर्दै नेपाल भ्रमण गर्न सकिन्छ । अबको नेपालको सडक सुविधा यो स्तरको हुनुपर्छ र हामीले पनि त्यहीअनुसार प्रचार गरेर लाखौं हिँड्न नसक्ने तर पैसा भएका पेन्सनर बूढाबूढीलाई नेपाल ल्याउन सक्नुपर्छ । नेपाल हिमाल आरोहण र ट्रेकिङका लागि मात्र होइन, अरू पनि धेरै छन् भन्ने अब चौथो चरणको प्रचार हुनुपर्छ ।

सांस्कृतिक पर्यटनको कुरा गर्दा हामीले सजिलैसँग भन्छौं, पूर्वको पाँचथरमा लिम्बूको धाननाच छ । अलिकति वर खोटाङतिर राईहरूको साकेला, तल तराईको झापामा धिमालको बेग्लै, त्यसदेखि पनि अलि वर तामाङको फापरे सेलो, अलि माथि शेर्पाको शिरुनाच, दाङतिर थारूको लट्ठी नाच, अलिपर बाग्लुङतिर मगरको पञ्चेबाजा वा गुरुङको सोरठी वा क्षत्रीको मारूनी नाच आदि । तर, पर्यटक आएर हेर्न खोजे भने यी पर्वहरू आइरहेका हुँदैनन् । त्यसैले केही पनि हेर्न पाउँदैनन् । खोलाले धाउने कि तिर्खाले धाउने ? अथवा यो अवस्थामा यी सांस्कृतिक पर्व वा विदेशी पर्यटकमध्ये कुन खोला हुन् वा कुन तिर्खा ?

यी सांस्कृतिक नाचलाई बिदेशी पाहुनाको समय तालिकामा जहिल्यै पनि प्रदर्शन गर्न सकिने गरी सङ्गठित गरेर सांस्कृतिक पर्यटनको विकास गर्न जरुरी छ । त्यसका लागि ठाउँठाउँमा सांस्कृतिक नाच प्रदर्शन गर्ने स्थानीय समूह गठन गर्न सकिन्छ । गठन गरिएका स्थानीय समूहलाई निश्चित रकम एडभान्ससहित केही समयअगाडि रिजर्भ गर्ने व्यवस्था गर्न सकिन्छ र पर्यटकलाई हरेक दिन फरकफरक सांस्कृतिक नाच देखाउँदै हिमाल, पहाड र तराईतिर आरामदायी गाडीमा घुमाउन सकिन्छ । हिमालबाहेकको पर्यटनको एउटा विषय यही सांस्कृतिक मार्गको गठन, विकास र प्रचार हुन सक्छ । भर्खरै एउटा जिम्मेवार नेताले यौन पर्यटनको अर्को विषय पनि ल्याएका छन् । जेहोस् नेपालले फरक स्वाद र प्रकृतिको पर्यटन उत्पादन तयार पार्नु जरुरी देखिन्छ । Published in arthik abhiyan national dailly http://www.abhiyan.com.np/?p=284034

Monday, June 18, 2018

हुंगा भ्याली एभ्रेष्ट पदमार्ग प्रदेश नं. १ को पर्यटन आयाम

वागमान कुलुङ

लोनली प्लानेटको प्रतिवेदन अनुशार फ्रान्सको जि आर २०, पेरुको इन्का ट्रेल र मालीको डागन पेयीपछि संसारको उत्कृष्ट पर्यटन पदमार्गमा सगरमाथा आधारशिविर पर्दछ । सगरमाथा आधारशिविरभन्दा उत्कृष्ट मानिएका संसारका यी तीनवटा पदमार्गहरुको मिल्दो २ वटा विषेशताहरु छन्, त्यो हुन् राउण्ड ट्रेक र एक्जिट अपसन, जुन सगरमाथामा छैन । राउण्ड टे«क भन्नाले एक ठाँउबाट घुम्दै हिडेको पर्यटकले त्यही ठाँउ फर्कन नपर्ने गरी घुमेरै यात्रा सकाउनु हो । त्यसो गर्दा पहिले नै हेरिसकेको ठाँउ वा भ्युपोइन्टहरु दोहोरिएर हेरिनुको सत्ता नयाँ नयाँ ठाँउहरु हेरिन्छ । एक्जिट अप्सन भन्नाले घुम्दै हिडिरहेको बेला एउटा पर्यटक बिरामी भएमा वा कुनै कारणवस यात्राबाट तुरुन्त फर्कनु पर्ने भएमा यात्रा अन्त्य गरेर तत्काल बस वा रेल जस्ता यातायातका माध्यमबाट फर्कन सकिने सुविधा हुन् । सगरमाथा आधारशिविर पदमार्गमा त्यस्ता एक्जिट सुविधा महंगो हेलिकप्टरको सेवा प्रयोग गरेर मात्र लिन सकिन्छ भने लुक्लाबाट फाक्दिङहुदै नाम्चे भएर सगरमाथा आधारशिविर पुगेका पर्यटकहरु दुधकोशी र खुम्बु उपत्यकाभित्र त्यही बाटो भएर फर्कनुपर्ने हुन्छ ।

प्रस्तावित हुंगा भ्याली एभ्रेष्ट पर्यटन पदमार्ग अन्र्तगत प्रदेश नं. १ को अरुण उपत्यका र खुम्बु उपत्यकाबीचको
रातो गोलाकार क्षेत्र खोङमाडिङमा हुन
हुंगा उपत्यकाहुदै हुंगा उपत्यकाको अन्तिम बिन्दु सेतीपोखरी पुगिन्छ । यसरी सेतीपोखरी पुगेका पर्यटकहरुले सेतीपोखरी आसपासका बरुञ्जे (७,१२९ मि), चाम्लाङ (७,३१९ मि), मेरापिक (६,६५४ मि.) र हुंगुचुली लगायतका हिमालहरु चढ्न सक्नेछन् । त्यसबाहेक सेतीपोखरीबाट पश्चिम उत्तरमा अवस्थित आम्फुलाप्चा (५,८०० मि.) पास गरेर खुम्बु उपत्यका प्रवेश गरी सगरमाथा आधार शिविर पुगेर खुम्बु उपत्यकाको नाम्चे, फाक्दिङ हुदै लुक्लामा आफ्नो यात्रा अन्त्य गर्न सक्नेछन् भने सेतीपोखरीको पूर्ब उत्तरमा अवस्थित शेर्पेनीकोल (६,१३५ मि.) पास गरेर अरुण उपत्यका प्रवेश गरी विश्वको पाँचौ हिमशिखर मकालु आधारशिविर पुगेर संखुवासभाको याङले खर्क, सेदुवा, नुम हुदै टुम्लिङटारमा आफ्नो यात्रा अन्त्य गर्न सक्नेछन् । त्यसैले यो पदमार्ग हुंगा भ्याली मकालु पर्यटन पदमार्ग पनि हो । यो पदमार्ग अन्र्तगत सेतीपोखरीबाट एभ्रेष्ट र मकालु दुवै पट्टीका पदमार्गहरु यसभन्दा अगाडी नै निर्माण भईसकेकाले सेतीपोखरीसम्मको पदमार्ग मात्र निर्माण गर्नुपर्ने हुन्छ । एभ्रेष्ट र मकालु हिमाल जाने दुवै पदमार्गलाई राउण्ड ट्रेकको सुविधा दिन पनि यो पदमार्ग प्रस्ताव गरिएको हो ।

हंगा उपत्यकामा जोडिन आउने सहायक पदमार्गहरु:

यो पदमार्ग अन्र्तगत संखुवासभाको टुम्लिङटारबाट मानेभञ्ज्याङ, हेलुवा, शिसुवाटार, चित्रे, भाकाम, कमिरे हुदै एउटा सहायक पदमार्ग सोलुखुम्बु र संखुवासभाबीच केन्पा डाँडामा जोडिन आउछ । टुम्लिङटारबाटै भोजपुरको कातिकेघाट, गोठेबजार, फेदी, जौंबारी हुदै अर्को सहायक पदमार्ग साल्पामा जोडिन आउछ । भोजपुरको
नक्सा प्राविधिक होइन
भोजपुर बजारबाट पनि यसरी नै साल्पामा जोडिन आउछ । खोटाङको हलेशी महादेव वा लामिडाँडाबाट राँखा, बानेहुदै साल्पामा अर्को सहायक पदमार्ग जोडिन आउछ । यसरी तीन क्षेत्रबाट साल्पामा जोडिन आएका पदमार्ग सोलुखुम्बुको गुदेल पुगेर मार्मेकु, भैसिरी, मेकटो हुदै केन्पामा वा गुदेलबाट छेस्काम हुदै सोलुखुम्बुको मुद्वीमा जोडिन आउछ । त्यस्तै अर्को खोटाङको हलेशी वा लामिडाँडाबाट ऐसेलुखर्कहुदै सोलुखुम्बुको कुरिम्मा पुगेर गेङखर्क, नुर्कम् हुदै वा कुरिम्माबाट डिम्बल नाम्लुङ हुदै गुदेल आईपुग्छ । यसरी गुदेल आईपुगेको पदमार्ग पनि मार्मेकु, भैसिरी हुदै केन्पा वा छेस्काम हुदै मुद्वीमा जोडिन आईपुग्छ । यसबाहेक काठमाडौंबाट ओखलढुंगाको सिद्विचरण, सोलुखुम्बुको पात्तलेहुदै वा फाप्लुबाट सल्लेरीहुदै देउसा, सोताङ, बुङ भएर छेस्काम आईपुगेका पर्यटकहरु पनि बोक्सिवार हुदै केन्पा वा खोटोङखर्क हुदै मुद्वीमा जोडिन आईपुग्छ । पात्तले वा सल्लेरीबाट नेलेबजार, सुकेपोखरी, झाँक्रीबास, कुरिम्मा हुदै गुदेलसम्म पनि जोडिन आउछ भने ओखलढुंगाको सिद्विचरणबाट खोटाङको राँखाबादेल, हुदै साल्पा पनि निकाल्न सकिन्छ । यी माथी उल्लेख गरिएका सहायक पदमार्गहरु सबै बजारमा उपलब्ध पर्यटकीय म्यापहरुमा यसभन्दा अगाडी नै उल्लेख गरिसकिएका पदमार्गहरु हुन जसलाई मुद्वि र केन्पाबाट वातेल्मासम्म दुई पदमार्गहरु र वातेल्मामा जोडिएपछि त्यसभन्दामाथी एउटै मार्ग खोङमाडिङसम्म जोडेर सेतीपोखरीहुदै सगरमाथा वा मकालु हिमाल जाने नयाँ पदमार्गको रुपमा विकशित गर्न सकिन्छ । केन्पा हुदै जाने पदमार्ग हिमाली डाँडैडाँडा जानेछ भने मुद्वी हुदै जाने पदमार्ग हुंगा खोलाको किनारै किनार मकालु बरुण राष्ट्रिय निकुञ्जभित्रको घना जंगल भएर जानेछ ।

यस पदमार्गभित्रका भौतिक पूर्बाधारको अवस्था
माथी उल्लेख गरिएका दुई बिन्दुहरु केन्पाडाँडा र मुद्वीखर्क बर्षामा स्थानीयले बर्खे गोठ लगिने लेकाली खर्कहरु

यसपदमार्ग अन्र्तगत मुद्धिखोलामा सम्पन्न पुल
हुन् । यी ठाँउहरुसम्म उहिलेदेखि बनाईएका पुराना मार्गहरु छन् । मुद्वीदेखि वातेल्मा दोभानसम्म करिब साँढे २ क्याम्पको बाटो निर्माण कार्य पर्यटन बोर्ड लगायतको सहयोगमा स्थानीयले सम्पन्न गरिसकेका छन् । त्यस्तै यही खण्डमै पर्ने मुद्वीखोलामा गरिबी निवारण कोषको कार्यक्रम अन्र्तगत एउटा ट्रष्ट ब्रिज निर्माण गरिएको छ । केन्पाबाट निर्माण गरिनुपर्ने पदमार्गको प्राविधिक सर्वे संखुवासभा स्थित एउटा संस्थाले सम्पन्न गरे पनि निर्माण कार्यको लागी थप पहल हुन सकिरहेको छैन । यी केन्पा र मुद्वीबाट जाने दुवै पदमार्गहरु हुंगा उपत्यकाको वातेल्मा दोभानमा मिसिन पुग्छ । यसरी मिसिन पुग्ने ठाँउ वातेल्मासम्म आईपुग्दा केन्पाक्षेत्रको लागी दोभानमा एउटा झोलुंगे पुल र मुद्वी क्षेत्रको लागी सग्गोल, माँगन, लुङतुम्मा र वातेल्मा गरी ४ ठाँउमा झोलुंगे पूलहरुको आवश्यकता पर्दछ । बाटो निर्माणको लागी केन्पादेखि वातेल्मा दोभानसम्म पुरै र वातेल्मादेखि माथी दुवै पदमार्ग जोडिएर जाने भएकोले एउटै पदमार्ग खोङमाडिङमासम्मको निर्माण कार्य पुरै बाँकी छ । यद्यपी वातेल्मादेखि माथी हिमाली चौरहरु बढी हुने भएकोले तल्लो क्षेत्र जस्तो धेरै बाटो बनाइरहनु पर्दैन । खोङमाडिङदेखि माथी यसभन्दा अगाडीका चल्ती बाटोहरुमा जोडिने भएकोले बनाईरहनु पर्दैन । यी भौतिक विकासका अभावबीच पनि स्थानीय जडिभुटी संकलकहरु, भेडा गोठालाहरु र खोङमाडिङ क्षेत्रमा होटल राख्ने स्थानीयहरु भने यही बाटो हिडने गर्दैछन् । बाटोमा आवश्यक अस्थाई काठका पूलहरु छन् । 
  
यस पदमार्ग र सडक सञ्जालको अवस्था

आगामी पाँच सात वर्षभित्र यी पदमार्ग जोडिने भनिएका सहायक पदमार्गहरुहुदै सोलुखुम्बुको गदेल र छेस्काम,
महाकुलुङमा पुग्दै गरेको सडक (फोटो लंकेश कुलुङ)

भोजपुरको साल्पा र संखुवासभाको शिसुवासम्म सडक पिच हुने अपेक्षा गरिएको छ । अथवा ढिलोचाँडो यी ठाँउहरुसम्म स्तरीय सडक पुग्छन् । बिरगञ्जमा अन्र्तराष्ट्रिय बिमानस्थल सम्पन्न भएको अवस्थामा त्यहाँबाट सजिलैसंग नभए पनि काठमाडौंबाट जाने पर्यटकहरु जसोतसो एकै दिनमा यी सडक सञ्जालले जोडिएका ठाँउहरुसम्म पुग्न सक्नेछन् । त्यसपछि कम्तिमा पाँचदेखि सात दिनभित्र यी पदमार्ग भएर पर्यटकहरु मेरापिक, चाम्लाङ र बरुञ्जे आधारशिबिर पुग्न सक्नेछन् । यती भईसक्दासम्म लुक्लासम्म पनि सडक पुगिसकेको हुन्छ वा हुनुपर्छ । तर लुक्लाबाट बरुञ्जे क्षेत्र आउन बढी समय लाग्नुका साथै जत्राला पास (३,५०० मि.) र मेराला पास (५,४१५मि) पास गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बर्षेनी मेरापिक, बरुञ्जे र चाम्लाङ एक्सिपिडिसनमा जाने करिब १,५०० आरोही पर्यटकहरुको सजिलोको लागी पनि यो बाटो निर्माण आवश्यक छ ।

यो पदमार्ग रेस्क्यु वेको रुपमा  


यो पदमार्ग नभएको अवस्थामा अपर ग्रेट हिमालयन ट्रेल हुदै शेर्पेनीकोल पास गरेर वा बरुञ्जे, चाम्लाङ र मेरापिक गएर खुम्जुङको छिकुङ निस्कनेहरु हुंगा नदीको शिरान सेतीपोखरी उपत्यकामा आईपुगेपछि हिमपात परेको बेला उक्त उपत्यकाबाट निस्कन गाह«ो हुन्छ । यो उपत्यका करिब ४,४०० मिटरको खाल्डोमा रहेको भए पनि उक्त ठाँउबाट निस्कन सकिने सबैभन्दा होचो भञ्ज्याङ मेराला पास ५,४१५ मिटरको छ । उपत्यकाबाट निस्कने सकिने अन्य थप तीन भञ्ज्याङहरु मिङबोला ५,८१५ मिटर, आम्फुलाप्चा ५,८०० मिटर, शेर्पेनीकोल ६,१३५ मिटरका छन् । हिमपात भएको बेला यी भञ्ज्याङहरु पार गर्न नसक्नेहरुको लागी पहिलो र अन्तिम उपाय हेलिकप्टर बोलाउनु हो तर कुहिरोले कहिलेकाही हेलिकप्टर बस्न नसक्दा अकालमा धेरैको ज्यान यो उपत्यकामा जाने गर्दछ । प्रस्तावित हुंगा उपत्यका एभ्रेष्ट पदमार्ग भएर सेतीपोखरीबाट मुद्वी फर्कनुपर्दा हुंगा खोलाको किनारै किनार कुनै पनि भञ्ज्याङ पार गर्न नपर्ने भएकोले यो मार्ग हिमपात भएको बेला रेस्क्यु वे पनि हो ।

यो पदमार्ग ३ आयामहरुको संगम 

यो पदमार्ग अन्र्तगत उल्लेख गरिएका सहायक पदमार्गहरुभित्र विभिन्न जातजाति र भाषाभाषीका मानिसहरुको
महाकुलुङमा कुलुङ कल्चर
बसोबास रहेको छ । यी हरेक ग्रामिण साँस्कृतिक तथा धार्मिक बिविधताको अवलोकन गर्दै पर्यटकहरु मुद्विसम्म आईपुग्छन् । मुद्वीबाट वातेल्मासम्म मकालु बरुण राष्ट्रिय निकुञ्जकै सबैभन्दा घनाघोर जंगल क्षेत्र हुन भने वातेल्मादेखि माथी बरुञ्जेसम्म हिमाल आरोहण शुरु हुन्छ । यस्तो अवस्थामा यो साँस्कृतिक, जंगल सफरी र पर्वतारोहणको संगम पदमार्ग हुन पुग्छ । हिड्न नसक्ने पर्यटकहरुको लागी तल्लो भेगमा साँस्कृतिक तथा हिमालको द«ष्यावलोकन गर्ने पदमार्ग पनि हुन सक्छ ।

 दुई भञ्ज्याङहरुमा केबलकार र यो पदमार्ग
यो पदमार्ग अन्र्तगत सेतीपोखरी पुगेपछि मकालुक्षेत्र जान ६,१३५ मिटरको शेर्पेनीकोल पास गर्नुपर्छ भने सगरमाथा क्षेत्र जान ५,८०० मिटरको आम्फुलाप्चा पास गर्नुपर्ने हुन्छ । सामान्य सबै पर्यटकहरुको लागी यो पास गर्न सजिलो छैन । हिऊ परेको बेला डोरी टाँगेर पार गर्नुपर्ने हुन्छ । यी भञ्ज्याङलाई सजिलो बनाउन अल्पकालमा फिक्स डोरी राख्न सकिन्छ भने दीर्घकालमा हिमाली केबलकारको निर्माण गर्न सकिन्छ जसले गर्दा खुम्बु क्षेत्रबाट प्रवेश गरेका सबै पर्यटकहरुले चाहेको खण्डमा हुंगा वा अरुण उपत्यका सजिलै प्रवेश गरेर राउण्ट ट्रेक गर्न सकोस र विश्वका गन्तब्यहरुसंग नेपाली गन्तब्यहरुले पनि प्रतिष्पर्धा गर्न सकोस् । फ्रान्स र स्वीजरल्याण्डका हिमाली श्रृंखलाहरुमा सन १९१० को आसपासमा यस्ता हिमाली केबलकार निर्माण भईसकेका छन् । त्यसको एक शताब्दीपछि हामीले हाम्रो हिमालमा किन त्यस्तो सपना नदेख्ने ? प्रदेश तथा केन्द्र सरकारको ध्यान यतातिर जाओस् ।

(हालैको स्थलगत अध्ययन भ्रमणपछि यो लेख तयार गरिएको हो)

Monday, May 21, 2018

पर्यटन बोर्डको नेपाल बिज्ञापन

 This article was published in Arthik abhiyan National news Paper on 12/10/2016

वागमान कुलुङ

आफ्ना पदाधीकारीहरुमाथीको मुद्वाले गतवर्ष यतिबेला ‘नेपाल पर्यटन बोर्ड’ अगाडी बिनियोजित साना–तिना बजेट निकाशा गर्न समेत नसक्ने कमजोर अवस्थामा थियो । प्रमुख कार्यकारी अधिकृत नियुक्तीको लामो अदालती झन्झटबाट मुक्ति पाएपछि त्यस पदमा नयाँ नियुक्तीसंगै यो वर्ष बोर्डले अरु बर्षहरुभन्दा प्रभावकारी कामहरु गरिरहेका छन् । हालसम्म बोर्डले अन्य सरोकारवालाहरुसंगको सहकार्यमा अन्र्तराष्ट्रिय बुद्विष्ट सम्मेलन, चाइना मिसन्, अतिथी देवो भवः लगायतका कार्यक्रमहरु गरिसकेको छ । नेदरल्याण्ड, जापान, युके लगायतका देशहरुमा नेपालीहरुले नेपालको पर्यटन प्रमोशन गर्ने कार्यक्रमहरुमा हातेमालो गरिरहेको छ । जनसम्पर्क अधिकृतहरु तोकेर वा गैरआवासीय नेपालीहरुको सञ्जालमार्फत बोर्डले बिदेशी भूमिमा नेपालको प्रचार गर्न खोजिरहेको छ । यसबाहेक बोर्डले हालै करिब १० करोड खर्च गरेर बिबिसी वा सो स्तरको अन्र्तराष्ट्रिय मिडियामार्फत र करिब ६ करोड खर्च गरेर चिनिया र भारतीय टेलिभिजनहरुमार्फत नेपाली पर्यटनको प्रचारप्रसार गर्ने निर्णय गरेको छ । यतिका सरकारी रकम खर्च गरेर बनाईने यो विज्ञापनले नेपालबारे कम्तिमा ६ वटा सकारात्मक सन्देशहरु दिन सक्नुपर्दछ । भूकम्पपछि नेपाल पुर्ण सुरक्षित भएको सन्देश, नेपाल अन्र्तराष्ट्रिय आतंबादका गतिविधी शुन्य मुलुक, आउदो पर्यटन वर्षमा नेपालले पर्यटकहरुलाई दिने प्रमुख सहुलियतहरु, विभिन्न भाषाभाषी र संस्कृतिको मुलुक, गौतम बुद्व र हिमालको देश आदी । यसबाहेक नेपाल चराचुरुङ्गी र भौगोलिक बिविधताको देश पनि हो ।

अहिले संसारका पर्यटकहरुको गन्तब्य डाइभर्ट गर्ने प्रमुख कारक तत्व अन्र्तराष्ट्रिय आतंकवादका गतिविधीहरु भईरहेका छन् । संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनको प्रतिवेदन अनुसार २०१६ को पहिलो ४ महिनामा टुनिसिया, टर्की र इजिप्टबाट मात्र अन्र्तराष्ट्रिय आतंकवाद्का गतिविधीले गतवर्षको पहिलो चार महिनाको तुलनामा ५१ लाख पर्यटकहरु अन्य देशहरुमा डाइभर्ट भईसकेका छन् । संगठनको प्रतिवेदन अनुसार ती पर्यटकहरु युरोपका स्पेन, पोर्चुगल, इटाली, माल्टा र बुलगारियातिर डाइभर्ट भईरहेका छन् । युरोपका यी सहरहरु आफैमा दैनिक लाखौ पर्यटकहरु प्रवेश गर्ने व्यस्त सहरहरु हुन् । त्यसो त अहिले ठुला मानिसहरुको हुल जम्मा भएका युरोपका सहरहरुमा पर्यटकहरुले धेरथोर आतंकवादको हमलादेखि डराइरहनु परेको छ । उदाहरणले लागी पेरिसमा आगामी महिनामा शुरु हुने युरो कपमा संसारका लाखौ पर्यटकहरु आउनेछन् तर त्यही अवसरमा अमेरिकाले फ्रान्सलाई अन्र्तराष्ट्रिय आतंकवादी हमला हुन सक्ने भन्दै सजक रहन भनेको थियो । त्यसको केही दिनमै उक्त युरो कपमा बिस्फोटको योजना बनाईरहेका एकजना आतंकवादी कार्यकर्ता युक्रेनमा पक्राउ परेको छ । संसारका प्रमुख पर्यटकीय गन्तव्यहरुमा यसरी आतंवादी हमलाको त्रास उत्पन्न भईरहेको अवस्थामा नेपाल इतिहासमै यस्ता गतिविधी शुन्य भएको शान्त मुलुक हो भन्ने सन्देश विश्व जगतलाई दिन जरुरी छ । हुन त अमेरिकी प्रतिवेदनले नेपाल भारत खुल्ला सिमा र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको कमजोर चेकिङ प्रणालीका कारण यस्ता गतिविधीमा संलग्नहरु नेपालमा लुक्न सक्ने भनेर सजक गराएको छ । सरकारको ध्यान त्यस क्षेत्रमा जानसक्नुपर्छ । हालैको ग्लोबल पिस इन्डेक्स प्रतिवेदनमा नेपाल दक्षिण एसियामा भुटानपछि दोस्रो शान्त मुलुक भनेर आएको छ । शान्त देशको यो साख बचाउन सक्यौ भने संसार आतंकवादले सताइरहेको बेला हामीलाई पर्यटनमा राम्रो गर्दै जानेछ र यसलाई बचाएर प्रचारमा जान जरुरी छ ।

अर्को महत्वपुर्ण कुरा सरकारले २०१८ लाई पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको अवस्थामा पर्यटन वर्षमा पर्यटकहरुलाई दिइने विषेश सहुलियतहरु के के हुन् ? सरकारले त्यसको निर्णय गरेर सार्वजानिक गर्न ढिला गर्नुहुदैन । खासगरी अरु भ्रमण वर्ष जस्तै पर्वतारोहण रोयल्टी, प्रवेश शुल्क, भिसा शुल्क आदिमा छुट दिने हो भने बेलैमा सार्वजानिक गरेर पर्यटन बोर्डलाई प्रचारको लागी जिम्मा दिइनुपर्दछ । पर्वतारोहण लामो समयको तालिम र ठुलो बजेटसहित आयोजना गरिने भएकोले पर्वतारोहीहरुले आगामी २ वर्षको योजना अहिले नै शुरु गर्ने हुँदा सरकारले सहुलियतबारे निर्णय गर्न र प्रचार गर्न ढिला गर्नु हुदैन् ।

विज्ञापन दिँदा हाम्रा कमजोरी पक्षहरुमाथी पर्यटकहरुबाट उठेका प्रश्नहरुको पनि सन्तोषजनक उत्तर मिलेको हुनुपर्दछ किनभने नेपाललाई एसियाको महंगो हवाईभाडा भएको देश भनेर पनि चिनिन्छ । हवाईभाँडा महंगो भए पनि खान र बस्ने खर्च संसारका प्रमुख पर्यटकीय गन्तब्यहरुभन्दा तीन गुणा सस्तो छ । बोर्डले चलाखीपुर्ण तरिकाले यो सन्देश दिन सक्नुपर्दछ । यसबाहेक हाम्रो हवाईमैदान संसारको खराब मैदानहरुको लिष्टहरुमा आउछ भने हाम्रो राजधानी संसारकै प्रदुषित शहरहरुमा गनिन्छ । बोर्डले यी सबै कुराहरुलाई मिलाएर चलाखीपुर्बक आफ्नो विज्ञापनहरुमा समावेश गर्न सक्नु पर्दछ ।

बोर्डको प्रचार रणनीति अनुसार सोह्र करोड रुपैयाको यी फरक ३ बिज्ञापनहरु पहिला चिनिया टेलिभिजन, भारतीय टेलिभिजन र बिबिसीमार्फत प्रचारण हुनेछन् । त्यसपछि त्यही बिज्ञापनलाई सामाजिक सञ्जालहरुमार्फत ब्यापकरुपमा प्रचार गरिनेछ । तर सामाजिक सञ्जाल भन्नाले एउटा पश्चिमा सामाजिक सञ्जालहरु जस्तै फेसबुक, ट्विटर, युट्युव, व्वाट्स अप आदि र अर्का चिनिया सामाजिक सञ्जालहरु जस्तै वेइवो, क्युजोन, पेङयु, रेनरेन, काइछिन्, विच्याट आदि पर्दछन् । भारतीय र हामी नेपालीहरुले प्रयोग गर्ने सामाजिक सञ्जालहरु यी पश्चिमा सामाजिक सञ्जालहरु हुन जसलाई चीनमा प्रतिबन्द गरिएको छ र उनीहरुको आफ्नै यी सामाजिक सञ्जालहरु छन् । भारतमा हिन्दीमा बज्ने बिज्ञापन र बिबिसीमा अंग्रेजीमा बज्ने बिज्ञापनलाई हामी संसारभरीका नेपालीहरुले आफुले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमार्फत प्रचार गर्दा त्यसले बोर्डको रणनीति अनुसार काम गर्छ तर ठुलो खर्चमा बनाईएका चीनिया भाषाका बिज्ञापनलाई हाम्रो समाजिक सञ्जालहरुमार्फत मात्र प्रचार गर्ने हो भने त्यसले चीनिया पर्यटकहरुसम्म पु¥याउन सक्दैन ।

टेक्नोलोजी इन एसिया नामक मेगाजिनका अनुसार यी चीनिया सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमध्ये चीनमा मात्र ५९ करोड ७० लाख रहेका छन् जोसंग हामी समाजिक सञ्जालमार्फत सम्पर्कमा छैनौं । त्यस्तै हाल बार्षिक १२ करोड चिनिया पर्यटक बिश्व बजारमा छन् । यसले चीनिया पर्यटकसम्म हाम्रो सन्देश पुग्न जरुरी छ तर सामाजिक सञ्जालमार्फत पुग्न सजिलो छैन भन्ने देखाउछ । यस्तो अवस्थामा चीनका ख्याती प्राप्त कलाकार, खेलाडी, धार्मिक नेता जस्ता प्रतिष्ठित ब्याक्तिहरुलाई नेपालले पर्यटन दुत, पर्यटन सहयोगी वा के भनेर हुन्छ, कुन स्तरको ब्यक्तिलाई सकिन्छ नियुक्ती गरेर उनीहरुको सामाजिक सञ्जालमार्फत प्रचार गराउने हो भने लाखौंलाख उनीहरुको फ्यानहरुसम्म हाम्रो बिज्ञापनहरु समाजिक सञ्जालमार्फत एकैसाथ पुग्नेछ । यो रणनीति भारतीय पर्यटकहरुसम्म पुग्नको लागी पनि प्रयोग गर्न सकिन्छ । तर प्राविधिक कारणले चीनिया समाजिक सञ्जालमा भने हामीले प्रयोग गर्नै पर्ने आवश्यकता छ ।