Friday, October 12, 2018

चौथो चरणमा नेपालको प्रचार

वागमान कुलुङ

यूरोपमा धेरैजसो ८०–९० वर्षका बूढापाकाहरूले म नेपालबाट आएको हुँ भन्दा नेपाल चिन्दैनन् । सगरमाथाको देशभन्दा पनि तिनले नबुझ्न सक्छन् । चीन र भारतबीचको देशभन्दा बल्ल अघि नै हिमालय भन्नु नि भन्छन् । हामीले नेपाल चिनाउने एउटा कुरा हो, तर संसारले कसरी बुझ्छ त्यो अर्को कुरा हो । यूरोपमा एउटा लोकप्रिय लघुकथा छ ‘टिनटिन’ । १९२० ताका धेरै चर्चामा आएको यो कथाको पात्र एउटा कुकुर लिएर विभिन्न देश हुँदै घुम्ने क्रममा नेपाल आइपुग्छ र तिब्बततिर जान्छ । तर, विडम्बना कथामा नेपाललाई हिमालय भनिन्छ, नेपाल भनिँदैन । यो कथाले नेपाललाई यूरोपभरि चिनायो, तर हिमालय भनेर ।

१९६० ताका यूरोपभरि गाँजा खान प्रतिबन्ध लगाउने कानून बन्दै गयो । तर, नेपालमा १९७३ मा मात्र गाँजा प्रतिबन्धको कानून बन्यो । गाँजा चरेस खान प्रतिबन्ध भएपछि गाँजाको नशा लागिसकेका त्यसबेलाका यूरोपेली युवा स्वतन्त्रपूर्वक गाँजा खान नेपाल र भारतका गोवा क्षेत्रसम्म आइपुग्थे । मध्यपूर्वका देशहरू हुँदै यूरोपबाट नेपाल आउने उक्त मार्गलाई त्यसबेला ‘हिप्पी ट्रेल’ भनेर चिनिन्थे । अहिले पनि धेरथोर यूरोपेलीहरूले नेपाललाई गाँजा चरेससँग जोडेर बुझ्ने गर्छन् ।

हिमालय र ‘हिप्पी ट्रेल’पछि तेस्रो चरणमा नेपाल हिमालको देश भनेर चिनियो । तर, फेरि हिमालले मात्र चिनियो । १९९९ मा सडक नपुगेका डोल्पाका जनताले नून खान पनि ज्यानको बाजी लगाएर तिब्बतको बाटो हिँड्नुपर्ने कथा समेटिएको एउटा फिल्म निर्माण भयो ‘क्याराभान’ । क्याराभानले ओस्कार पुरस्कार जितेपछि संसारको ध्यान आकर्षित हुने नै भयो । तर, यसले नेपाल अभावैअभाव भएको हिमाली राज्य भनेर पनि चिनायो । यूरोपमा अहिले पनि नेपालको कुरा गर्दा थोरै असुविधासँग जोडेर म त हिमालमा हिँड्नै सक्दिनँ भन्नेहरू धेरै भेटिन्छन् । नेपाल आएर फर्केकाले साथीभाइहरू माझ आफू फुर्तिलो भएको गर्व गर्छन् । जेहोस् हिमालको मात्र एकोहोरो रटानले नेपाल जानु भनेकै हिमाल हेर्न हो र हिँड्न सक्नेहरूका लागि मात्र हो भन्ने गलत सन्देश गइरहेको छ । यसमा हाम्रो विज्ञापन शैली पनि दोषी छ ।

हामीले अबको २ वर्षमै थप १० लाख पर्यटक ल्याएर २० लाख पु¥याउने भनिरहेका छौं । यही दशकभित्रै ३५ लाख पु¥याउने पनि भनिरहेका छौं । तर, हिमालले मात्र यति पर्यटक तान्छ र ? के संसारमा हिमाल मन नपराउने मान्छेहरू पनि छैनन् होला ? हिमाल भनेका सोलुखुम्बु, मनाङ, मुस्ताङ, सङ्खुवासभा, ताप्लेजुङ, दोलखालगायत एक दर्जन जिल्ला मात्र हुन् । के ३५ लाख पर्यटक एक दर्जन जिल्लामा अट्लान् ? के झापा, सुनसरी, सप्तरी, कैलाली वा कञ्चनपुरतिर विदेशी पर्यटक जानै नहुने हो ? के तराईका जिल्लाहरूमा विदेशी पर्यटकले रुचाउने कुनै वस्तु नै छैनन् ? त्यसैले नेपालमा पर्यटकको सङ्ख्या बढाउने हो भने हिमालबाहेक पर्यटनका अन्य विषय पनि थप्न सक्नुपर्छ । यी विषयमध्ये सांस्कृतिक पर्यटन एउटा प्रमुख विषय हुन सक्छ । खेल पर्यटन अर्को विषय हुन सक्छ । नेपाल जानु हिमाल जानु मात्र होइन वा हिँड्न सक्नु मात्र होइन, बरु हिँड्नै पर्दैन आरामदायी गाडीमा हिमाल हेर्दै नेपाल भ्रमण गर्न सकिन्छ । अबको नेपालको सडक सुविधा यो स्तरको हुनुपर्छ र हामीले पनि त्यहीअनुसार प्रचार गरेर लाखौं हिँड्न नसक्ने तर पैसा भएका पेन्सनर बूढाबूढीलाई नेपाल ल्याउन सक्नुपर्छ । नेपाल हिमाल आरोहण र ट्रेकिङका लागि मात्र होइन, अरू पनि धेरै छन् भन्ने अब चौथो चरणको प्रचार हुनुपर्छ ।

सांस्कृतिक पर्यटनको कुरा गर्दा हामीले सजिलैसँग भन्छौं, पूर्वको पाँचथरमा लिम्बूको धाननाच छ । अलिकति वर खोटाङतिर राईहरूको साकेला, तल तराईको झापामा धिमालको बेग्लै, त्यसदेखि पनि अलि वर तामाङको फापरे सेलो, अलि माथि शेर्पाको शिरुनाच, दाङतिर थारूको लट्ठी नाच, अलिपर बाग्लुङतिर मगरको पञ्चेबाजा वा गुरुङको सोरठी वा क्षत्रीको मारूनी नाच आदि । तर, पर्यटक आएर हेर्न खोजे भने यी पर्वहरू आइरहेका हुँदैनन् । त्यसैले केही पनि हेर्न पाउँदैनन् । खोलाले धाउने कि तिर्खाले धाउने ? अथवा यो अवस्थामा यी सांस्कृतिक पर्व वा विदेशी पर्यटकमध्ये कुन खोला हुन् वा कुन तिर्खा ?

यी सांस्कृतिक नाचलाई बिदेशी पाहुनाको समय तालिकामा जहिल्यै पनि प्रदर्शन गर्न सकिने गरी सङ्गठित गरेर सांस्कृतिक पर्यटनको विकास गर्न जरुरी छ । त्यसका लागि ठाउँठाउँमा सांस्कृतिक नाच प्रदर्शन गर्ने स्थानीय समूह गठन गर्न सकिन्छ । गठन गरिएका स्थानीय समूहलाई निश्चित रकम एडभान्ससहित केही समयअगाडि रिजर्भ गर्ने व्यवस्था गर्न सकिन्छ र पर्यटकलाई हरेक दिन फरकफरक सांस्कृतिक नाच देखाउँदै हिमाल, पहाड र तराईतिर आरामदायी गाडीमा घुमाउन सकिन्छ । हिमालबाहेकको पर्यटनको एउटा विषय यही सांस्कृतिक मार्गको गठन, विकास र प्रचार हुन सक्छ । भर्खरै एउटा जिम्मेवार नेताले यौन पर्यटनको अर्को विषय पनि ल्याएका छन् । जेहोस् नेपालले फरक स्वाद र प्रकृतिको पर्यटन उत्पादन तयार पार्नु जरुरी देखिन्छ । Published in arthik abhiyan national dailly http://www.abhiyan.com.np/?p=284034