Monday, September 2, 2013

पर्यटनको ट्रान्जिट बिन्दु हुदै भोजपुरको साल्पा

    वागमान कुलुङ:        
 समुन्द्र सतहदेखि ३,४६० मि. उचाईमा रहेको पुर्वाञ्चलको प्रख्यात धार्मिक स्थल 'साल्पा पोखरी' सोलुखुम्बु, संखुवासभा, भोजपुर र खोटाङ जिल्लाको बिचमा भोजपुरको दोबाने गा.वि.समा पर्दछ । काठमाडौंबाट संखुवासभाको टुम्लिङटार हुदै पैदल यात्रा गरेर ३ दिनमा भोजपुरको चौकीडाँडा, दोबाने र गुँरासे हुदै त्यस ठाँउमा पुग्न सकिन्छ । त्यस्तै गरी खोटाङको लामिडाँडा हुदै जानेहरु ताप्खोला, बाने र सावा हुदै ३ दिनमा, सोलुखुम्बुको फाप्ल ु हुदै जानेहरु भुडिडाँडा, सोताङ,सानाम हुदै ४ दिनमा र लुक्लाबाट जानेहरु पैया, पाङगोम, बुङ, गुदेल हुदै ५ दिनमा उक्त साल्पा भन्ने ठाँउमा पुग्छन् । यसबाहेक धरानबाट बसमा धनकुटा हिले, टुम्लिङटार भएर पनि उक्त ठाँउसम्म पुग्न सकिन्छ भने काठमाडौंबाट बसमा ओखलढुंगाहुदै सोलुखुम्बुको सल्लेरीबजार, भोजपुरको सदरमुकाम वा खोटाङको दिक्तेलबजारसम्म गएर पनि साल्पा पुग्न सकिन्छ । 

        साल्पालाई गुँरासको राजधानी भनेर पनि चिनिन्छ । बसन्त ऋतुमा जाने पर्यटकहरुले साल्पामा आफुलाई लालीगुँरासको बगैचामा पाउनेछन् । त्यहाँ एउटा पोखरी छ जसलाई साल्पा पोखरी भनेर चिनिन्छ । धार्मिक हिसाबले त्यस ठाँउ र पोखरीको बेग्लै महत्व छ (नोटमा हेर्नुहोस्) । बर्षेनी बैशाखे पुर्णिमा, जनै पुर्णिमा र कातिके पुर्णिमाको दिन देशका विभिन्न जिल्लाहरुबाट आउने तिर्थयात्रीहरु उक्त ठाँउमा पुजा आराधना गर्ने गर्दछन् । साल्पा पोखरीदेखि २ घण्टामा शिलुछो पिक (४,१५६ मि.) को चुचुरामा पुग्न सकिन्छ । त्यहाँ जानको लागी बाटो बनाईएको छ । उक्त चुचुरामा पनि देवीको मन्दिर छ । साल्पामा वर माग्न आउनेहरु उक्त चुचुरोमा पनि गएर वर माग्ने चलन छ । तर शिलुछो पिकको विशेषता त्यती मात्र होइन, महत्वपुर्ण कुरा त त्यहाँबाट सगरमाथा, मकालु, ल्होत्से, अन्नपुर्ण, कैलाश, मेरा, दुधकुण्ड, नुप्से, गौरीशंकर र कञ्चनजंगा लगायतका २२ वटा भन्दा बढी हिमालयन श्रंखलाहरुको अवलोकन गर्न पाईन्छ । त्यस ठाँउसम्म केही वर्षभित्रै सडक यातायात पु-याउने योजना बनाइसकिएको छ । तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले उक्त बाटो हुदै गएर पहिलो पटक सगरमाथा चढेको हुनाले त्यस सडकको नाम तेन्जिङ हिलारी सडक नामाकरण गर्नेसम्मको सहमती भईसकेको छ ।यसरी सडक यातायातले साल्पालाई छुने सम्भावनासंगै अब साल्पा चाडै नै संसारकै पहिलो बसमा गएर सगरमाथा हेर्ने ठाँउ हुदैछ । 

साँस्कृतिक र हिमाल आरोहणको ट्रान्जिट बिन्दु हुदैछ साल्पाः

साल्पाबाट पुर्वी दक्षिणतिरको हिमालयको लहरमा क्रमस: शिलुछो (४१५६ मि.), भुकुर (४००० मि.) र केन्पाडाँडा (३,९०० मि.) पर्दछन् । केन्पाबाट गौंवित्ताको कालपोखरी, धर्मढोका (करिब ४,२०० मि.) हदै २ दिनमा नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशीको मुहान समेत रहेको एउटा गहिरो सेतीपोखरी भञ्ज्याङ (करिब औषतमा ३,७०० मि.) पुगिन्छ । गतवर्ष २०६९ वैशाखमा पहाडी विकास तथा संरक्षण समूह नेपालको पहलमा गएका एभ्युन्युज राष्ट्रिय टेलिभिजनको यात्रा कार्यक्रम निर्माताहरु र जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुका प्राविधिकहरुको १ महिने खोजमुलक स्थलगत भ्रमणले उक्त साल्पादेखि सेतीपोखरी भञ्ज्याङ जान निम्न ३ वटा पर्यटन पदमार्गको सम्भाव्यता रहेको कुराको सिफारिस गरेको छन्:

१) साल्पाबाट शिलुछोको भकारी छिरुवा, कोङखो, भुकुरडाँडा, संखुवासभाको कमिरेडाँडा, केन्पाडाँडा हुदै गौंवित्ता, धर्मढोका हुदै सेतीपोखरी भञ्ज्याङ: यो बाटो २७०० मि.देखि ४,००० मि.सम्मको उचाईको जंगल र पर्वतहरुहुदै जाने सबैभन्दा माथिल्लो बाटो हो । यो बाटो सबैभन्दा रमाईलो बाटो भए पनि बसन्त ऋतुमा खाने पानीको समस्या हुने सम्भावना छ ।
  
२) साल्पाबाट सोलुखुम्बुको गुदेल, सात्दी, बोदिरी, मार्मेकु, भैसीरी, मेकटो, केन्पाडाँडा, धर्मढोका हुदै सेतीपोखरी भञ्ज्याङः– यो बाटो मध्यम उचाई भएर कुलुङ र शेर्पा बस्ती हुदै गरिने यात्रा हो । यसमा खानेपानीको कुनै समस्या हुदैन । यो बाटो रोज्नेहरुले भैसीरीदेखि मेकटोसम्म मकालु बरुण राष्ट्रिय निकुञ्जभित्रको घनाजंगल हुदै जानुपर्ने हुन्छ । यी दुई बाटो रोज्नेहरुले केन्पामा प्रसिद्व धार्मिक स्थल गौबित्ता कालपोखरी (नोटमा हेर्नुहोस्) को पनि दर्शन गर्न पाउनेछन् । 

३) साल्पाबाट सोलुखुम्बुको गुदेल, छेस्काम, मुद्वी, माँगन दोबान, वातेल्मा दोवान हुदै सेतीपोखरी भञ्ज्याङ:– यो बाटो सेतीपोखरी भञ्ज्याङबाट हिमपात भएकोबेला उक्त भञ्ज्याङ पार गर्न नसक्नेहरुको लागि उद्दार बाटो (Rescue way)। सेतीपोखरी भञ्ज्याङ पुगेपछि फर्कनको लागि हालको प्रचलित बाटोहरुमध्ये सबैभन्दा सजिलो पार गर्न सकिने बाटो मेराला पास (५,४१४ मि.) गरी लुक्लाको लागी नौंलेख फर्कने बाटो हो । तर हिमपात भएको बेला सो भञ्ज्याङबाट निस्कन नसक्नेहरुले अनिवार्यरुपमा उद्दारको लागि हेलिकप्टर पठाउनुपर्ने हुन्छ । सो उद्दार, समयमा नभएमा पदयात्रीहरु उक्त भञ्ज्याङमै वर्षेनी मर्ने समेत गर्दै आएकाछन् । यही संवेदनशिलतालाई मध्यनजर गरेर उक्त सर्वेक्षण टिमले बढी जोडदारकासाथ सिफारिस गरी हाल उक्त पदमार्ग निर्माण कार्यको थालनी भएको छ । जम्मा ६८ लाख रुपैयाको अनुमानित लागतमा सम्पन्न हुने अपेक्षा गरिएको उक्त उद्दार बाटोमा हाल करिब २० लाख रुपैया लगानी हुदैछ । अर्थ मन्त्रालय, द ग्रेड हिमालयन ट्रेल विकास योजना र स्थानीय गा.वि.स. कोषहरुबाट सो रकम जुटाईएको थियो भने बाँकी रकमको लागि सम्बन्धित निकायबाट सकारात्मक प्रतिबद्वताहरु आइरहेका छन् । 

माथिका सेतीपोखरी भञ्ज्याङ जाने ३ वटा बिकल्पहरु साल्पाबाट पुग्ने बिकल्पहरु मात्र हुन् यसबाहेक टुम्लिङटार र लुक्लाबाट पनि निम्न ४ वटा विकल्पहरु प्रयोग गरेर सेतीपोखरी भञ्ज्याङ पुग्न सकिन्छ । यो ४ वटा विकल्पहरु हालै विदेशी पर्यटकहरुले प्रयोग गर्दै आएका प्रख्यात पदमार्गहरु हुन् ।           
१, लुक्लादेखि नाम्चे, टेङबोचे हुदै मिङबोला (५,८१७ मि.) पास गरेर,
२, लुक्लादेखि नाम्चे, छिकुङ हुदै आम्फुलाम्चा (५,८०० मि.) पास गरेर,
३) लुक्लाबाट थोल, कोठे, नौलेख, खहरे हुदै मेराला (५४१४ मि.) पास गरेर,
३, तुम्लिङटारबाट मकालु आधारशिबिर हुदै शेर्पेनीकोल (६,१३५ मि.) पास गरेर । 

पर्यटकहरु किन सेतीपोखरी भञ्ज्याङ जान्छन् ? 
सोलुखुम्बुको लुक्लाबाट खुम्बु उपत्यकाभित्र पर्ने कोङडे, आमाडब्लाङ, पुमोरी, सगरमाथा, कालापत्थर लगायतका सयौ हिमशिखरहरु हेर्दै गएपछि फर्कने बेलामा पर्यटकरु अर्को उपत्यकाको हिमालय लहरहरु हेर्दै फर्कन रुचाउछन् । यद्यपी भौगोलिक कठिनाईका कारण अहिलेसम्म प्राय पर्यटकहरु खुम्बु उपत्यकाको हिमालहरु हेर्दै गएर उही हिमालहरु हेर्दै लुक्ला फर्कनुपर्ने बाध्य छन् । यद्यपी केही जोखिम मोल्न रुचाउने आरोही पर्यटकहरु खुम्बु उपत्यकाबाट आम्फुलाप्चा (५८०० मि.) वा मिङबोला (५८१७ मि.) पास गरेर सेतीपोखरी उपत्यका (अरुण उपत्यका र खुम्बु उपत्यकाको बीच उपत्यका) भित्र प्रवेश गर्दछन् । यसरी सेतीपोखरी उपत्यका प्रवेश गरे उसले थप मेरापिक, बरुज्जे, चाम्लाङ, हुंगु चुली, चारपाते, मकालु लगायतका १२ भन्दा बढी हिमालहरुको नयाँ दृष्यवलोकन गर्न सक्दछ । यद्यपी उक्त भञ्ज्याङ प्रवेश गरेपछि सो प्रस्तावित नयाँ उद्दारबाटो सम्पन्न नहुन्जेलसम्म निस्कनलाई उसले कम्तिमा ५,४१४ मि. उचाईको मेराला पास गरेर फर्कनुपर्ने हुन्छ । अन्यथा उसले उद्दारको लागी हेलिकप्टर बोलाउनुपर्ने हुन्छ । हेलिकप्टर बस्न नसकेर फर्केमा ज्यानै जाने खतरा समेत रहन्छ । यस्तो बेला धेरै विदेशी भरियाहरुको मृत्यु हुदै आएको छ । 
यी जोखिमहरुको भावजुत पनि वर्षेनी सयौं विदेशी पर्यटकहरु उक्त भञ्ज्याङ हुदै हिमालहरु आरोहण गर्न जाने गर्दछन् । खासगरी बरुञ्जे हिमाल, मेरा हिमाल, चाम्लाङ हिमाल, हंगु चुली १, हुंगु चुली २, चारपाते हिमाल, मकालु हिमाल आदि दर्जनौ हिमालहरु त्यही सेतीपोखरी उपत्यकाभित्र पर्ने भएकोले पर्यटकरु सो भञ्ज्याङ पुग्नैपर्ने हुन्छ । अन्य समयमा सुनसान त्यो हिमाली उपत्यका ट्रेकिङ सिजनमा संसारको चर्चित सहरहरुभन्दा कम झिलिमिली हुदैन् । ग्रामिण पूर्बाधारको विकाससंगै त्यस पर्यटनकेन्द्र सेतीपोखरी भञ्ज्याङ पुग्ने सजिलो प्रस्थानबिन्दु अब साल्पा हुदैछ ।

साल्पा र ग्रेट हिमालय ट्रेल:
एसिया महादेशका देशहरु पाकिस्तान, चीन÷तिब्बत, भारत, नेपाल, भुटान र म्यानमारको उच्च हिमश्रृखलाहरु हुदै करिब ४,५०० कि.मि. लामो हिमाली पर्यटन पदमार्ग विकासको परिकल्पना नै ‘द ग्रेट हिमालयन टे«ल’ हो । उच्च हिमश्रृखलाहुदै हिमाली यात्रा र मध्य पहाडी मार्ग हुदै ‘ग्रिन ग्रेट हिमालनय ट्रेल’ को नामले साँस्कतिक, धार्मिक तथा प्राकृतिक पर्यटनको विकास गरिने कुरा यस पदमार्गको दिर्घकालीन अवधारणामा उल्लेख गरिएको छ । विश्वको आठ हजारभन्दा माथिको १४ वटै हिमालहरुको काखहुदै तय गरिने यो यात्रा सम्भवतः संसारकै सबैभन्दा साहसिक, रमणीय र लामोदुरीको हुने दावी गरिएको छ । प्रस्तावित  ‘उच्च ग्रेट हिमालयन ट्रेल’ को नक्शा अनुसार म्यानमारको हिमश्रखलाबाट शुरु हुने यो हिमाली पदमार्ग भारतको अरुणाञ्चल प्रदेश, भुटानी हिमश्रखला हुदै सिक्किम दार्जिलिङ भएर नेपालको कञ्चन्जंगा क्षेत्र प्रवेश गर्दछ । यसरी नेपालको कञ्चनजंगा क्षेत्र भएर प्रवेश गरेको यस पदमार्गको प्रस्तावित नक्साले विश्वको पाँचौ हिमशिखर मकालु आधारशिविर हुदै शेर्पेनीकोल (६,१३५मि.) पास गरेर सोलुखुम्बुको त्यही सेतोपोखरी भञ्ज्याङ प्रवेश गर्दछ, भने त्यसपछि आम्फुलाम्चा (५,८०० मि.) पास गरेर छिकुङ, टेङबोचे, नाम्चे, थामे हुदै दोलखाको गौरीशंकर आधारशिविर टाशिलाप्चा (5755 m.) भएर पार गर्दछ । त्यसपछि यस प्रस्तावित अन्तर्राष्ट्रिय पदमार्ग नेपालको अन्नपुर्ण क्षेत्र हुदै दार्जुला, जुम्ला भएर तिब्बतको बर्वा भन्ने ठाँउमा अन्त हुन्छ । नेपालमा भने यस पदमार्गको लम्बाई करिब १,७०० कि.मि. हुने अनुमान गरिएको छ भने यसको दुरी पार गर्न करिब १५० दिन लाग्ने अनुमान गरिएको छ ।

यस दुईवटा समानान्तर पदमार्ग विकासको मुख्य दुईवटा उद्देश्यहरु एसियाको हिमालयन श्रृखलाहरुको पयर्टन पदमार्गको एकैैसाथ प्रचार प्रसार गर्नु तथा जलवायु परिवर्तनको मारमा परेका हिमाली भेगका जनताहरुको  पर्यटनको विकास मार्फत जीवनस्तर उठाउनु रहेको छ । सन् १९९० तिर पहिलोपल्ट यस पदमार्गको धारणा उक्त क्षेत्रका पर्यटन ब्यवसायीहरु र खासगरी ‘द माउण्टेन इन्सटिच्युट’ भन्ने अन्तर्राट्रिय गैरसरकारी संस्थाले ल्याएका थिए । हाल यस पदमार्ग विकास र प्रवद्र्धनको लागि क्ल्ख् को प्रविधिक र SNV को आर्थिक सहयोगमा संचालन गरिदैछ । 

उक्त प्रस्तावित ‘तल्लो ग्रिन ग्रेट हिमालयन ट्रेल’ संयोगले संखुवासभाको तुम्लिङटार, भोजपुरको दोबाने हुदै साल्पा पास भएर जानेगरी निर्धारण गरिएको छ । यस अवस्थामा उच्च मार्गले साल्पाबाट प्रस्थान गर्ने प्रमुख गन्तब्य सेतीपोखरी भञ्ज्याङ जोड्दैछ वा अर्को शब्दर्मा  'उच्च ग्रेट हिमालयन ट्रेल’ भएर सेतीपोखरी आउने विदेशीहरु केन्पा कालपोखरी वा मुद्वी भएर साल्पा हुदै तुम्लिङटार वा लामिडाँडा हवाईमैदानहरु जान सक्ने सम्भावनाको विकास भएर जानेछ । भने तल्लो मार्गले सिधै साल्पालाई छुनेछ । यस अवस्थामा ग्रेट हिमालयन ट्रेलको विकास संगै साल्पाको पनि प्रबद्र्वन हुदैछ । 

आम्फुलाप्चामा केबलकारको परिकल्पना र साल्पाः
‘सपना पुरा नहुनु समस्या होइन बरु सपनै नदेख्नु समस्या हो’ (कर्ण शाक्यको सोचबाट) । यदी सपना देख्न पाइन्छ भने भविष्यमा हामीले सेतीपोखरी उपत्यका र खुम्बु उपत्यकालाई सजिलै पार गर्न सकिने गरी आम्फुलाप्चा भञ्ज्याङ (५८०० मि.) मा एउटा केबलकारको स्थापना गर्न सकिन्छ । जसको लागि आवश्यक बिजुलीको व्यवस्था हँगा खोलाबाट बिजुली निकालेर गर्न सकिन्छ । त्यस ठाँउमा केबलकारको स्थापना गर्न सकिए सोलुखुम्बुको लुक्लाबाट खुम्बु उपत्यकाभित्रका सबै हिमालय पर्वतश्रखलाहरुको अवलोकन गर्दै आउने विदेशी पर्यटकहरुले सजिलैसंग आम्फुलाप्चा पार गरेर हंगा उपत्यका भित्रको हिमालहरुको दृष्यावलोकन गर्दै साल्पासम्म आईपुग्नेछन् । त्यसैगरी टुम्लिङतार र लामिडाँडाबाट आदिवासी साँस्कृतिक पक्षहरुको अवलोकन गर्दै साल्पा आईपुगेका विदेशीहरु हंगा उपत्यका हदै खुम्बु: उपत्यका प्रवेश गरेर राउण्ड ट्रेक सम्पन्न गरी काठमाडौं फर्कन सक्नेछन् । यस्तो बेला यो पदमार्ग साँस्कृतिक र पर्वतारोहण दुवै मार्ग हुन्छ, भने, साल्पा पर्वतारोहण र साँस्कृतिक पर्यटनको ट्रान्जिट बिन्दु हुनेछ । यस्तै खालको अर्को केबलकार गौरीशंकर हिमालको फेदीमा रहेको टाशिलाप्चा पास (५,७५५ मि.) मा पनि स्थापना गर्न सके काठमाडौंबाट एक दिनमा बस चढेर तामाकोशी उपत्यकाको छो–रोल्पा ताल आईपुगेका विदेशीहरु १० दिनभित्र खुम्बु उपत्यका हुदै हंगा उपत्यका भएर साल्पा आईपुग्ने सम्भावना रहन्छ । दश वर्ष लाग्ला, २० वर्ष लाग्ला हामीले त्यो सपना पुरा गर्नुपर्दछ, अन्यथा हालको भौगोलिक कठिनाईबीच नाम्चेबजार घुम्नु भन्दा हाम्रै नेपालीहरु थाइल्याण्डको बैंकक घुम्न थाल्नेछन् अनि विदेशी पर्यटकहरु कसरी सम्भव होला हाम्रो हिमालतिर ? यसैले यो सपना देख्नु आवश्यकता र बाध्यता दुवै हो ।  

                                        अनुसुचीको नोटमा राखिएका विषयहरु 
साल्पा पोखरी एक धार्मिकस्थलः
एउटा किम्बदन्ती अनुसार आदिम युगमा वर्तमान संखुवासभाको 
अरुण उपत्यका क्षेत्रमा किरात वंशका एक प्रभावशाली राजा राज्य गर्दथे । तराई र कैलाश आवत–जावत गर्ने क्रममा महादेवले त्यो देखेको रहेछ । महादेवलाई किरात राजाको राज्य मन परेको रहेछ । उनले त्यो राज्य हडप्ने मनसायले राजालाई पिनाश रोग लगाएछन् । उनी आफू भने झाँक्रीको रुपधारण गरी लेक बेंशी हिड्दा रहेछन् । राजाले झाँक्रीलाई आफ्नो रोग देखाए छन् । झाँक्रीले राजालाई यो ठाँउ छाडेर जानुपर्ने नत्र रोगले ज्यान लिनसक्ने कपटपूर्ण कुरा गरेछन् । झाँक्रीको सुझावपछि राजा आफ्नो सहयोगीहरुलाई लिएर उपचारका लागि मधेश प्रस्थान गरेछन् । झाँक्रीको रुप धारण गरेका महादेवले राजाको प्रस्थानपछि त्यस राज्यलाई ध्वस्त पारी संखुवा खोला उत्पत्ति गराउनुका साथै रानी र जनतालाई त्यहाँबाट लखेटेर आफू राजा भएछन् । स्वास्थ्य उपचार गर्न गएका किरात राजा फर्केर आउँदा महादेवले आफ्नो राज्य हडपेको र आफ्नी रानीलाई बिचल्ली पारेर धपाएको बाटैमा थाहा पाएछन् । राज्य खोसी सकिएको थियो । त्यसैले उनी रानीको खोजीमा लागेछन् । सबैतिर सोधखोज गर्दा राज्य हडपिएपछि रानी रुँदै साल्पातिर गएको अरुले बताएछन् । राजा आफ्नी रानीको खोजीमा त्यतै गएछन् । रानी गएको बाटोमा उनले टेकेको विभिन्न ठाँउमा धाप र पोखरी निर्माण भएको राजाले थाहा पाएछन् र त्यसैलाई पछ्याउँदै गएछन् । रानी खोज्दै आएका राजाले बिल्बाटे ढुङ्गा (दोबानेको माथि) को टुप्पा चढेर रानी कता पुगिछन् भनेर माथी शिलुछोतिर हेर्दा रानीको टाउको मात्र देखिएछ । त्यसमाथि अर्को ढुंगा राखेर हेर्दा साल्पा पोखरीमा रानी देखेछन् । किरात राजाले आफ्नी रानी खोज्न चढेको ढुंगा भनेर स्थानीयवासी त्यसलाई ‘राजालुङ’ भनेर पुर्काछन् । किरात राजा हतार हतार रानी लिन जाँदा रानीलाई सर्पले बेरिरहेको अवस्थामा भेट्टाएछन् । राजाले उक्त शर्प मार्न खोज्दा रानीले त्यो नागसंग आफुले बिहे गरिसकेको बताउदै मारे ठुलो क्षती बेहोर्नुपर्ने बताइन । वर्षमा तीनपटक लाग्ने साल्पा मेलामा उही विछोडिएका किरात राजा–रानीको सम्झनामा सबैले सय राजा सये सये, सय रानी सये सये गीत समेत गाँउने चलन हालसम्म पनि छ । (राजधन कुलुङ प्रसिद्व किरात धार्मिक तथा साँस्कृतिक स्थल साल्पा पोखरी बाट) ।

केन्पा गौबित्ता (कालपोखरी): 
किंमदन्ती अनुसार १६ औ शताब्दीतिर तराईबाट एकजना गुरुङ भेडागोठालो एक हजारभन्दा बढी भेडीगोठसहित केन्पाको गौबित्ता भन्ने ठाँउमा आएछ । गुरुङले खाना बनाउन चुलो बनाउनको लागि तीनवटा ढुँगा ल्याएर चुलो मिलाएछ । जब आगो बालेर खाना बनायो उसले दुध र अन्य चोखो खानेकुरा पकाउदा समस्या भएन तर जब उसले अन्य खानेकुरा पकायो तब चुलो भत्किएर खाना पोखियो । यो क्रम ३÷४ पल्ट दोहोरिए पछि उसले रिसले त्यो ढुँगालाई नै खुकुरीले काट्यो । यसरी काट्दा ढुङगाबाट रगत बगेछ । यसपछि गुरुङले त्यो ढुङगा देउता भएको अनुमान ग¥यौ । नभन्दै त्यस दिन मुसलधारे पानी प¥यौ र उसको सबै भेडालाई नजिकको पोखरीमा बाढीले बगाएर लग्यौ । त्यसपछि उसले त्यस ठाँउमा वर मागेर त्यो देउतालाई एउटा मन्दिर बनाएर राख्यौ । त्यो सुनेपछि स्थानीय एक थिम्रा थरको कुलुङ धामी उक्त ठाँउमा बर माग्न आफ्नो केही टोलीका साथ गयो । उक्त पोखरीमा पुगेपछि धामीले आफुले मन्त्र लगाएर तयार पारेको अछेता भेटी सहयोगीहरुलाई दियो र आफु उक्त तालभित्र पसेर एउटा राँगालाई तानेर ल्याउने कुरा ग¥यो । त्यस्तो बेला उक्त अछेताले मलाई छर्काउनु र जोडदार आफ्नो ड्याङ्ग्रो बजाउनु भनी सहयोगीहरुलाई कडा निर्देशन दिएछ । तर जब धामीले तालभित्र पसेर साँच्चीकै राँगालाई कानमा समाती तानेर बाहिर ल्यायो तब सहयोगीहरु आत्तिएर अछेता छर्काएर ड्याङग्रो बजाउनुको सट्टा भागे । यसरी सहयोगीहरु भागेपछि उक्त राँगाले उक्त धामीलाई तालभित्र फर्कायो र तालभित्र डुुबायो । केही क्षणपछि तालमा राताम्य रगत देखियो । धामी कहिल्यै फर्केन र त्यस दिनदेखि उक्त तालको नाम कालपोखरी राखियो । आज पनि उक्त कालपोखरी र उक्त गुरुङ गोठालोले काटेको भनिएको देउताको दाग रहेको छ । त्यस पछि बर्षेनी जनैपुर्णिमाको दिन उक्त कालपोखरीमा वर माग्न जानेको संख्या बढ्दै आएको छ । हाल संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, धनकुटा लगायतका ठाँउहरुबाट उक्त गौबित्ताथानमा वर माग्न हजारौँ भक्तजनहरु जाने गर्दछन् ।   

(लेखक एभ्युन्युज टेलिभिजन र पहाडी विकास तथा संरक्षण समूह नेपालद्वारा फाप्लु, लामिडाँडा र टुम्लिङटारबाट सेतीपोखरी उपत्यकासम्मको पर्यटन पदमार्ग सम्भाव्यता अध्ययन कार्यक्रमको व्यवस्थापन संयोजक तथा तल्लो सोलुखुम्बु पर्यटन प्रर्वद्वन समितिका सचिव हुन्)     


No comments:

Post a Comment