Tuesday, September 24, 2013

सयल कुञ्जमा बसेर निकुञ्ज चलाउनेहरुको चाला

वागमान कुलुङ
जंगल के हो ? जहाँ कहिले काही निकुञ्ज पनि राखिन्छ । यदी एकजना राउटे छेउमा भए, यो प्रश्न भुइमा खस्न नपाउदै जवाफ फर्काउछ । जंगल घर हो । नजिकको शिकारीले मान्दैन र कसम खान्छ, जंगल शिकार गर्ने थलो हो । त्यसै गरी कृषकको लागी जंगल घाँस, दाउरा, स्याउलाको श्रोत हो भने शासक राजा–महाराजाहरुको लागी जंगल रमाइलो गर्ने ठाँउ हो । जे होस् उद्देश्य व्यापक फरक भए पनि सबैलाई जंगल चाहिन्छ, त्यो पक्का हो । यी विभिन्न जंगलमा स्वार्थ जोडिएका मनुवाहरुमध्ये जंगललाई एक्लै पेवा बनाउन खोजे कसले बनाउला ? उत्तर सजिलो छ, जोसंग बल छ उसैले बनाउछ । स्वभाविक हिसाबले शासकसंग सेनामेना र राज्यको ढुकुटी छ र उसैले अन्तिममा पेवा बनाउछ । यसरी शासकले पेवा घोषणा गरेको जंगललाई नेपाली भाषाविद्हरुले राष्ट्रिय निकुञ्ज नाम दिए । यसरी शासकले पेवा घोषणा गरेको जंगलमा अरुको प्रवेश निषेध गर्दै आइयो र त्यसबाट चित्त नबुझ्नेहरुले विवेक अनुसारको बिलौना वा बिद्रोह गरे वा गर्दै आइरहेका छन् । संसारभरीका निकुञ्जसंग स्थानीयको द्वन्दको घटनाहरु यसैको पेरिफेरीमा छ । आफ्ना पितापुर्खाले चर्चिआएका भूमिबाट एकाएक यसरी विस्थापित हुनेहरुको बिलौना सुनेर अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ र संयुक्त राष्ट्रसंघको आदिवासी जनजाति सम्बन्धी घोषणा पत्र नामको उपायहरु पनि ल्याइयो तर विधीको शासनमा विश्वास नगर्नेहरुको लागि यो केबल कागजको पन्ना हो । यहाँ भइरहेको पनि यही हो । 

सन् १८७१ मा पच्चिम अमेरिकाको हिमाली भेगमा अवस्थित वोयोङमेङ क्षेत्रमा स्थापना गरिएको यलो स्टोन नेसनल पार्क संसारकै पहिलो राष्ट्रिय निकुञ्ज मानिन्छ । त्यहाँका शोशोनी आदिवासीहरुको पुर्खौली भूमिमा यो राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो । शासकवर्गको रमाइलोको लागी स्थापना गरिएको त्यस निकुञ्ज र त्यस क्षेत्रका आदिवासीहरुबीच ठुलो द्वन्द चल्यौ । अन्तमा ५ वर्षकै अवधीमा करिब ४०० शोशोनीहरुको हत्या सरकारी सेनाबाट भएको थियो । यसरी इतिहासमा पहिलो पटक स्थापना गरिएको निकुञ्जबाट निकुञ्जको थालनी मात्र होइन, दरबारको सयल कुञ्जमा बस्ने शासक र प्राकृतिक श्रोत साधनमा आश्रित स्थानीय जनताबीचको द्वन्द पनि शुरु भयो, जुन आज उप्रान्त चलिरहेको छ । नेपालमा भने पहिलो पटक बि.सं. २०२९ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो । त्यो भन्दा अगाडी त्यस निकुञ्ज क्षेत्रमा दरबारका राजा–महाराजाहरुले शिकार खेलेर मनोरञ्जन लिने गर्दथे । स्वभाविक हिसाबले त्यसबेला दरबारको इच्छामा खुलेका निकुञ्जको संरक्षणमा दरबारकै प्रत्यक्ष मातहतमा रहेको सेनालाई त्यसको सुरक्षार्थ खटाइयो । संसारमा शासक वर्गले नै निकुञ्ज राख्दै आएकोल,े यो क्रम संसारकै चलनचल्तीको निरन्तरता पनि हो । त्यसैले आज सेनाबिनाको पनि निकुञ्ज हुन्छ र ? भन्ने मान्छेको मन मष्टिष्कमा छाप परिसकेको छ र त्यसै भन्ने गरिन्छ । 

यसरी संसारकै पहिलो राष्ट्रिय निकुञ्ज येलो स्टोनदेखि हालसम्म आइपुग्दा कुनै न कुनै हिसाबमा स्थानीय र निकुञ्जवालाबीच द्वन्द चल्दै आएको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा सेनाबाट स्थानीय  महिलामाथीको दुव्र्यवहारका घटनादेखि हात्ती आतंक र त्यसबाट स्थानीय र निकुञ्जवालाबीचको द्वन्द यसका उदाहरण हुन् । 

निकुञ्जमा सृजना हुदै आएका यी द्वन्द संसारकै प्रकृतिविद् र प्रकृति संरक्षकहरुको प्रमुख टाउको दुखाइको विषय हुदै आएको छ । यो समस्याको समाधानको बैकल्पिक उपायबारे सन् १९८० मा पहिलोपल्ट संसारका प्राकृति व्यवस्थापकहरुले नयाँ अवधारणाको जन्म दिए । जसलाई समुदायमा आधारित संरक्षण (Community Based Conservation) भनिन्छ । सरकारले बल प्रयोग गरेर भन्दा पनि प्रकृति संरक्षणको चेतना स्थानीय जनतालाई दिई त्यसको संरक्षण र व्यवस्थापनमा उनीहरुलाई नै जिम्मेवार बनाउनु यस अवधारणाको मुख्य विषेश्ता हो । दक्षिण अफ्रिका लगायतका संसारका विभिन्न ठाँउहरुमा यसको प्रयोग सफल हुदै आएको छ । नेपालमा भने पहिलोपल्ट ‘द माउण्टेन इन्सटिच्युट’ लगायत १४ वटा अन्य विदेशी दातृनिकायहरुले ठुलो रकम खर्च गरेर सरकारको सहकार्यमा बि.सं. २०४८ सालमा यस अवधारणाको प्रयोग मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा गरे । यो दश वर्षे विदेशी परियोजना थियो । दश वर्ष पछि २०५८ सालमा यो परियोजनाको सम्पुर्ण व्यवस्थापन नेपाल सरकारलाई जिम्मा दिइयो । तर इतिहासमै पहिलो पटक समुदायमा आधारित निकुञ्ज स्थापनाको मर्म र उद्देश्य पुरा गर्न सरकारले समुदायमा आधारित नयाँ निकुञ्ज ऐन बनाउनुपर्ने थियो तर सो नगरी उही पुरानो सेना तैनाथी पारा अपनाइने ‘राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐन २०२९’ अनुसार खोलिएका निकुञ्जहरु जस्तै यस निकुञ्जमा पनि सेना परिचालनको तयारी गर्दैछ र अझ बुझेर पनि बुझ पचाई तर्क गर्छ सेनाबिना पनि निकुञ्ज सम्भव हुन्छ र ?

No comments:

Post a Comment