Sunday, March 29, 2015

नेपालमा लगानीको वातावरण र शेयर बजारबारे केही प्रश्न उत्तरहरु

केही साथीहरुले खासगरी बिदेशमा बसेर नेपालको शेयर बजार र लगानीको वातावरणसम्बन्धी फेसबुकमा प्रश्न सोधिरहने गर्दछन् । उनीहरुको लागी थोरै आफुलाई लागेको कुरा शेयरिङ गरेको छु ।

१.कम्पनीको शेयर भनेको के हो ?
कुनै पनि कम्पनीले गरेको ब्यावसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाँटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश शेयर हो । जस्तो उदाहरणको लागि जम्मा कम्पनीको २ लाख कित्ता साधारण शेयर छन्। कम्पनीको घाँटा वा नाफा मानौ रु. २ लाख रहेछ भने १ लाख ५० हजार कित्ता साधारण शेयर किन्नेले १ लाख ५० हजार नाफा भए नाफा र घाँटा भए घाँटा ब्यहोर्छ तर ५० हजारको मात्र साधारण शेयर किन्नेले नाफा पनि ५० हजार मात्र र घाँटा पनि ५० हजारको मात्रै ब्यर्होछ ।

२. कम्पनीको शेयर कति प्रकारको हुन्छ ?
कम्पनीको शेयर २ प्रकारको हुन्छ । क) संस्थापक शेयर वा अर्गाधिकार शेयर र ख) साधारण शेयर
क) संस्थापक शेयर वा अर्गाधिकार शेयर
कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो । जस्तो कि १ अर्ब पुँजीको एउटा बैंक वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्ब मध्ये कम्पनीको शूरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो । यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको शूरुवात गर्नेहरुले आफुले कबुल गरेको रकम बराबरको शेयर हाल्छ त्यसलाई संस्थापक शेयर वा अर्गाधिकार शेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकम पछि यो शेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थीर बोनस हुन्छ । संचालक समितिमा यो शेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ ।

ख) साधारण शेयरः
संस्थापकहरुले संस्थापक शेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण शेयर जारी गरिन्छ । साधारण शेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको शेयर हो । सामान्यतया १ कित्ता शेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५० कित्तादेखि माथि शेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने शेयर साधारण शेयर हो ।
नोटः हाल सरकारले कम्पनी ऐन १९९२ संसोधन गर्दैछ । त्यसमा साझेदार शेयर (Partner Share) को पनि ब्यवस्था गर्ने भनिएको छ । त्यो साधारण शेयर पनि होइन संस्थागत पनि होइन । यी दुई शेयरवालाहरुको बीचमा रु.५ लाखको भन्दा माथि शेयर हाल्नेहरु हुन् ।

३.आफुले किनेको साधारण शेयरको मुल्य पछि बढ्छ कि बढ्दैन ?
भविष्यमा कम्पनी नाफामा गयो भने थोरै शेयरले पनि धेरै नाफा दिन्छ । जस्तो उदाहरणको लागि एक करोडको लगानीमा सम्पन्न जलबिद्युतले २ करोड वार्षिक नाफा कमायो भने आज रु. १०० मा किनेको शेयरले प्रति वर्ष रु. २०० त नाफा मात्र गर्छ । यस्तो कम्पनीको शेयर रु. १०० मै उसले शूरुमा किनेको भए पनि आज रु.५०० मा किन्दा के फरक पर्छ र आखिर त्यसले प्रत्येक वर्ष रु. २०० नाफा दिने सम्भावना छ भने । यस्तो बेला शेयर किन्नेले भविष्यमा हुने कम्पनीको नाफाको आँकलन गरी आफुले किनेको भन्दा सयौ गुना बढी हालेर पनि शेयर अरु पहिला लिईसक्नेबाट खरिद गर्ने गर्दछ । यस्तो बेला शेयरको मुल्य बढ्ने हो । तर यसको ठिक उल्टो कम्पनी चल्नै सक्दैन घाटामा निरन्तर जान्छ भने एक दिन रु. १०० मा किनेको शेयर खर्च भएर कम्पनीको खर्चमै पनि त सिद्धिन सक्छ नि ! हो यस्तो बेला रु. १०० को शेयर रु. ५० मै किनेर पनि के गर्ने एक दिन त्यो पनि सिद्धिन्छ । यस्तो बेला बजारमा शेयरको मुल्य घट्न पनि सक्छ । नेपाली बजारमा कुनै बेला रु.१०० मा किनेको स्टान्डर्ट चार्टड बैंकको शेयर रु.९६०० सम्म भएको थियो भने चिलिमे जलविद्युतको मुल्य रु. २६०० सम्म भएको थियो । तर माओवादी युद्धकालमा फुलवारी रिसोर्टको रु.१०० को शेयर रु. ३४ सम्ममा पनि बिक्न गाह्रो भएको थियो ।

४.आफुले किनेको शेयर बिक्री गर्न र अरुले किनिसकेको शेयर खरिद गर्न कहाँ जाने हो ? 
धितोपत्र बोर्डबाट स्वीकृति लिएको कम्पनीहरु शेयर खरिदबिक्री गर्न अनुमती पाएको एजेन्ट (दलाल) का रुपमा प्रशस्तै छन् उनीहरु कहाँ बेच्ने र किन्ने दुवै जाने हो । उक्त एजेन्टले आवश्यक कागजातहरु मिलाएर किन्ने र बेच्नेको स्वामित्व हस्तान्तरण गर्छ । बुझ्नको लागि जग्गा खरिदबिक्रीको सन्दर्भमा मालपोट कार्यालयको जस्तो काम उनीहरुले गर्छन् । त्यही ठाँउमा बिक्री गर्ने बढी र खरिद गर्ने कम भयो भने स्वतः शेयरको मुल्य घट्छ तर बिक्री गर्ने कम र खरिद गर्न खोज्ने बढी भयो भने बढ्छ । यो तलमाथी भईरहने कार्यलाई नेप्से परिसुचक भनेर पत्रपत्रिकामा पढ्न पाईन्छ ।

५.बिदेशमा बस्नेहरुले कसरी स्वदेशी योजनाहरुमा लगानी गर्ने ?
भर्खरै सरकारले संसोधन गर्न लागेको कम्पनी ऐन र नियमावलीमा बिदेशमा बसेर पनि लगानी गर्न सकिने र बिदेशमा बस्ने गैर आवासिय नेपालीले पनि बिदेशमै बसेर लगानी गर्न मिल्ने नीति ल्याउन लागेको छ अरें । तर हालको पुरानो नीति अनुसार चाही तपाई आफै सक्कल नागरिकता सहित हाजिर भएर शेयर खरिद गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मेरो व्यक्तिगत सुझाब चाही तपाईले नेपालमा रहेका विश्वासिलो प्रतिनिधीको नाममा निवेदन हालेर पछि नेपाल आएको बेला आफ्नो नाममा हस्तारण गर्न सक्नुहुन्छ । तर याद राख्नुहोस् यस्ता मान्छेहरुले बद्मास ग¥यो भने तपाईको शेयर बेचेर खान सक्छ किनभने तपाईको नाममा हस्तान्तरण हुनुपूर्ब कानूनी रुपमै त्यो शेयर तपाईको होइन उहाँको हो ।                                        

६. कम्पनीको शेयर कहिले खुल्छ कसरी निवेदन हाल्ने नि ?
कम्पनीको नियम र निर्णय अनुसार जहिले पनि शेयर खुल्न सक्छ तर उनीहरुको शेयर राष्ट्रिय स्तरको पत्रिकामार्फत सुचना जारी भएर मात्र खुल्छ । त्यो पत्रिकाहरु बारम्बार हेरेर पत्ता लगाउनु राम्रो हुन्छ । उक्त पत्रिकामा नै कहिलेसम्म निवेदन हाल्न मिल्ने ? कति रकमसम्मको हाल्न मिल्ने ? कहाँ कहाँ सम्पर्क राख्नु पर्ने जस्ता कुरा उल्लेख गरिएको हुन्छ । त्यही ठाँउमा गएर निवेदन हाल्ने हो उनीहरुले भनेको बैंकमा आवेदन हालेको रकम जम्मा गरेर सक्कल भौचर पेश गर्ने हो ।

७. शेयर पनि दिदैन पेश गरेको पैसा पनि हिनामिना हुन सक्छ ?
तपाईले गलत ठाँउमा निवेदन हाल्नु भएन भने यस्तो कहिल्यै पनि हुदैन । तपाईको पैसा निवेदन हाल्नेको बैंक खातामा मात्र जम्मा हुने गरी एकाउन्ट पेयी चेकमा फिर्ता गर्छन् । सामान्यतया ३ महिनाभित्र कि शेयर कि पैसा, कि थोरै शेयर र बाँकी पैसा वा सबै शेयर पनि दिन सक्छन् । फिर्ता भएको रकममा बजार मुल्यको बचत ब्याज पनि दिन्छ । यो बैंकमा हालेको बचत जस्तै बैंकमै रहने पैसा हो । तर शेयरसम्बन्धी कुनै संस्थाले बद्मासी ग¥यौ भने उजुरी गर्ने ठाँउ चाही धितोपत्र बोर्डको कार्यालय हो ।

८. कम्पनीले नाफा भएपछि कसरी बितरण गर्छ ?
वार्षिक रुपमा नाफा भएपछि कम्पनीले कि त बोनस शेयर दिन्छ । त्यो भनेको तपाईले मानौं १०० कित्ता शेयर अघिल्लो बर्ष किन्नुभएको थियो भने अब यसवर्ष भएको नाफाको पनि १० कित्ता शेयर कम्पनीले दिन सक्छ । अब तपाईको शेयर ११० कित्ता भयो । यसबाहेक अर्को पैसा दिन्छ यस्तो बेला सिधै तपाईको बैंक खातामा दिन्छ । अर्को केही पैसा वा केही शेयर पनि दिन सक्छ । यस्तो शेयरलाई हकप्रद शेयर (Right Share) भनिन्छ । तर कम्पनी घाँटामा गयो भने त भए पो वितरण गर्छ । तर यसको अर्थ कम्पनीको खर्च पुगेन भनेर तपाईको बाँकी सम्पत्तीबाट भुक्तानी माग्न पनि आउदैन । बढीमा तपाईले हालेको शेयरसम्मको लगानी डुब्ने हो ।

९.नेपालमा कुन क्षेत्रमा लगानी गर्दा फाइदा होला ? 

क) बिद्युतः
नाफा वातावरणको मात्र नभएर ब्यवस्थापनको उपच पनि हो । तर नेपाल सरकारले जलविद्युत, यातायात पूर्बाधार, पर्यटन, कृषी जन्य जडिभुटी प्रसोधन र खानीजन्य उत्पादनलाई नयाँ नीतिमार्फत प्राथमिकतामा राखेको छ । जलविद्युतमा लगानी गर्नेले उत्पादन गरेको बिजुली किनिदिने सम्झौता गर्ने गरेको छ । यस्ता सम्झौंतालाई पिपिए भनिन्छ । यसबाहेक उत्पादन भएको १० वर्षसम्म आयकर छुट र त्यसपछि थप ५ वर्ष आधा मात्र आयकर लिने नीति लिएकोले भारत र चिनिया कम्पनीको नेपालको जलविद्युतमा खर्बभन्दा माथीको लगानी गर्ने प्रतिष्पर्धा नै चलिरहेको छ । यी विदेशी कम्पनीहरुका आयोजनाहरु सामान्यतया २५ देखि ३५ वर्षभित्र सरकारलाई जिम्मा दिने शर्तमा आईरहेका छन् । यी आयोजनाहरुमा पनि साधारण शेयर आवहान हुनेछ ।
ख) सिमेन्टः
नेपाल अहिले सिमेन्टमा आत्मनिर्भर भईरहेको भनिए पनि ८० प्रतिशत भन्दा बढी सिमेन्ट बनाउने कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने हुन्छ । स्वदेशमै यस्ता कच्चा पदार्थ प्रशस्त पाईएकाले विद्युतको आपूर्ति हुन सके प्रशस्त लगानी राम्रो हुने देखेर नाइजेरियाको डंगोट सिमेन्टले करिब ७५ अर्ब, भारतको रिलायन्सले ४० अर्ब र चिनिया सिमेन्ट कम्पनी हौंशीले ले पनि सिबम सिमेन्टसंगको सहकार्यमा ३० अर्ब लगानी गर्दैछन् । उनीहरुले पनि तपाई हाम्रो लागि साधारण शेयर जारी गर्न सक्नेछन् । बढ्दो दरमा भईरहेको बिद्युत आयोजना, २५०० भन्दा बढी किलोमिटरको सडक पिच हुन बाँकी आयोजनाहरु, सडक बिस्तारसंग मानिसहरुले गर्ने सिमेन्ट पक्की घरहरुको आँकलन, अन्तर्राष्ट्रिय हवाईमैदानहरुको निर्माण क्रमले सिमेन्ट कम्पनीमा लगानीकर्ताहरु हौशियता हुन् । नाईजेरियामा बोको हराम जस्ता समूहको युद्धले पनि लगानी नेपाल आउन सहयोग ग¥यौ ।
ग) पर्यटनः
भौतिक पुर्बाधारहरुको लगानीले पर्यटकहरुलाई नेपाल आउन र गुम्न सहयोग गर्नेछ । यसबाहेक सरकारले नेपाल बायुसेवा निगममार्फत अन्र्तराष्ट्रिय उडानहरु थप्न जहाज किन्ने योजनाहरु सार्बजानिक गर्दछन् । तर यसमा राजनीतिक हस्तक्षेप र  खिचलो पनि हुदैछ । पोखरा र बिरगन्ज अन्तर्राष्ट्रिय बिमानस्थलहरु बन्ने कुरा छ । यस्ता योजनाले पर्यटकको संख्या बढ्नेछ । खासगरी चीनले सिल्क रोड परियोजना अन्र्तगत एसियाका देशहरु सबैमा रेल तथा सडक बिकास योजना सार्वजानिक गर्दैछ । जसले गर्दा उक्त सडक तथा रेलमार्ग नेपाली भूमी भएर दक्षिणतिर जान सक्नेछ । यसले गर्दा सस्तोमा चिनीया पर्यटकहरु नेपाल आउनेछन् । चिनीया पर्यटक आउने अर्को कारण उनीहरुको प्रति व्यक्ति आय बढ्दैछ । यी कुराहरुको आँकलन गरेर हाल पोखरा र काठमाडौंका ठाँउहरुमा धमाधम होटलहरु बन्दैछ । सेराटन लगायतका अन्र्तराष्ट्रिय ब्राण्डका होटलहरु काठमाडौंमा बन्दैछ । उनीहरुले पनि शेयर आवहान गर्न सक्नेछन् । बुद्धीमानी युवाहरु चिनिया भाषा सिकेर होटलहरुमा काम गर्ने तथा ट्रेकिङमा आम्दानी गरिरहेका छन् । 
घ) इन्जिनियरिङ कलेजहरुः
सिमेन्ट, हवाईमैदान, सडक र बिद्युतमा लगानीसंग ठुलो संख्यामा इन्जिनियरिङ मानवीय संसाधनको माग बढ्ने सम्भावना छ । यसले गर्दा इन्जिनियरिङ कलेजहरु पनि लगानीको क्षेत्र हुन सक्नेछ ।
ङ) यातायात पुर्बाधारहरुः
भिविन्न हिमाली डाँडाहरुमा केबलकारहरु, काठमाडौंका सडकमा केबलकार, काठमाडौं हेटौडा सुरुङमार्ग लगायतमा पनि लगानी आउने क्रम जारी छ । उनीहरुले पनि शेयर आवहान गर्न सक्छन् ।
नोटः यसबाहेक अरु धेरै क्षेत्रहरु छन् तर हाल बजारमा चम्केका मुख्य लगानी क्षेत्रहरु चाही यही क्षेत्र हन् ।

१०, यी लगानीहरु के के कारणले डुब्न सक्ला ?
क) राजनीतिक कारणः
राजनीतिक कारण यी लगानीहरु डुब्ने पहिलो कारण हुन सक्ला । जस्तो संविधानको नाममा जहिले पनि बन्दै बन्दै, हड्तालै हड्ताल भयो भने । फेरी युद्ध भयो भने त कम्पनी नचल्ला । घाटामा कम्पनी जाला । अर्को संविधान आए पनि एउटा न एउटा पक्षले बिरोध गरिरहला, आन्दोलन गरिरहला ।
अर्को कुरा सरकार फेरिरहला । आज सरकारले विद्युतलाई छुट दियो भोलीको सरकारले अर्को नीति ल्याएर बिदेशी लगानीकर्ता लखेट्ने किसिमको नीति बनाउला । यस्तो अवस्था आयो भने बिद्युतमा लगानी आउदैन । बिद्युतमा लगानी नआएपछि जलविद्युत आयोजना बन्दैन सिमेन्ट खपत पनि नहोला वा बिद्युत नभएपछि सिमेन्ट कारखाना पनि कसरी चल्ला ? यो नेपालको राजनीतिको जिम्मा त कसैले पनि लिन सक्दैन ।
तर याद गर्नुपर्ने कुरा के हो भने सामान्य आन्दोलन र कहिलेकाहीको बन्द संसारको जुनसुकै पनि ठाँउमा हुने भएकोले केही बन्द हुदैमा आतिनु पर्ने चाही हुदैन ।
ख) प्रशासनिक ढिलासुस्ती ः १ अर्बको योजनामा एउटा गा.वि.सको सिफारिसले एक हप्ता रोकियो भने करोडौ घाटा होला । नेपालको दुर्भाग्य यो पनि छ ।
ग) स्थानीयको अवरोधः स्थानीयले नचाहिदो माग राखेर योजना अगाडी बढ्न दिदैन भने घाँटामा जान सक्छ । जलविद्युत र सिमेन्ट कारखानाहरुले यो समस्या झेल्नुपर्ने अवस्था आउन सक्छ ।
घ) मजदुर आन्दोलनः हामीमा जिम्मेवारी पुरा गर्नु भन्दा बढी अधिकार माग्ने संस्कार छ । अनाआवश्यक माग राखेर मजदुर आन्दोलन भईरहने र यसले राजनीतिक संरक्षण पाउने भएकोले कम्पनी घाँटामा जान सक्छ । कतिपय कम्पनीहरु मजदुर आन्दोलनले बिगठनसम्म भएको छ ।






   



No comments:

Post a Comment