Saturday, January 29, 2011

सोलुखुम्बुको दक्षिणी भेगमा पर्यटन विकासको सम्भाव्यता र चुनौतिहरु















वागमान कुलुङ छेस्काम ३ सोलुखुम्बु

विश्वको सर्बोच्च शिखर सगरमाथा लगायतका सयौं हिमशिखरहरु सगरमाथा र मकालु बरुण राष्ट्रिय निकुाज भित्रका वनस्पती तथा बन्यजन्तुहरु अनि ग्रामिण परिवेश र साँस्कृतिक विविधताले सोलुखुम्बु विश्वकै पर्यटकहरुको लागि गन्तव्य स्थलको रुपमा चिनिदै आएको छ । यद्यपी यस जिल्लाको दक्षिणी भेग खासै पर्यटन विकासको आझेलमा परेकोछ । यसको धेरै कारणहरुमा भौतिक पुर्बाधारको विकासको अभाव स्तरीय होटल तथा लजहरुको अभाव र प्रचारप्रसारको अभाव प्रमुख रहेकाछन् । यद्यपी प्रभावकारी रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न सकिएमा सोलुखुम्बुको सम्पुर्ण क्षेत्रलाई नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यस जिल्लाको सुदुर दक्षिण पुर्वमा अवस्थित बुङ छेस्काम गुदेल लगायत दक्षिणी भेगलाई समेत्ने नयाँ पर्यटन पदमार्गको विकासको सम्भाव्यतालाई यहाँ व्यक्त गरिएको छ ।

१. हालको विकसित प्रमुख पदमार्गहरु:यस जिल्लाको प्रमुख पर्यटकीय प्रवेशद्वारको रुपमा चौरीखर्कको लुक्ला विमानस्थललाई मानिन्छ । यस विमानस्थलबाट पश्चिम तर्फ फाक्दिङ नाम्चे हुदै सगरमाथाको आधार शिविरसम्म र नाम्चेबाट थामे हुदै रोल्वालिङ उपत्यका छिर्ने बाटो विकसित अवस्थामा छ भने लुक्लाबाट पुर्वतिर पर्ने पदमार्ग अन्र्तगत नौलेख मेरा हुदै शेर्पेनीकोल क्रस गरी विश्वको पाचौ हिम शिखर मकालु हिमालको आधारशिविर पुग्न सकिन्छ । उक्त आधारशिविरबाट विश्वको मकालुको आधारशिविर संखुवासभाको हटिया हुदै टुम्लिङटार विमानस्थलसम्मको बाटो विकसित पदमार्गको रुपमा चिनिन्छ । यसबाहेक नाम्चेबाट पाङबोचे छिकुङ हुदै आमालाप्चो क्रस गरेर सेतीपोखरी मेरापिक वा सेतीपोखरी बरुन्जे पास गरी लुक्ला आउने बाटो पनि पुर्ण विकसित पदमार्गकै रुपमा चिनिन्छ । यी विकसित पर्यटन पदमार्गहरुले सोलुखुम्बुको उत्तरी क्षेत्रलाई मात्र छोएको कारणले पनि दक्षिणी भेगमा पर्यटन विकास ओझेलमा परेको हो ।

२ दक्षिणी भेग जोड्ने सम्भाव्य पदमार्गहरु:
२.१ फाप्लु मेरा पदमार्ग: सोलुखुम्बुको लुक्ला हवाईमैदानबाट नौलेख हुदै मेरा लङगुर पास गरेपछि हँुगाखोलाको मुहान समेत रहेको एउटा गहिरो सेतीपोखरी भाज्याङ पुगिन्छ । उक्त भाज्याङमा लुक्ला नाम्चे- छिकुङ- हुदै आमालाप्छो पास गरेर वा नाम्चे ट्याङबोचे हुदै मिङमाला पास गरेर पनि पुग्न सकिन्छ । त्यस्तै गरी संखुवासभाको सेदुवा मकालु हिमालको आधारशिविर हुदै शेर्पेनीकोल क्रस गरेर पनि उक्त भाज्याङमा पुग्न सकिन्छ । त्यस्तै लुक्लाबाट नौलेख मेरा लङगुर हुदै पनि उक्त भाज्याङमा पुग्न सकिन्छ । उक्त भाज्याङ हुदै गरिने पर्यटन पदमार्गहरु मध्ये यीनै प्रमुख रहेकाछन् । उक्त भाज्याङ पुगेपछि फर्कनलाई पर्यटकहरुले शेर्पेनीकोल आमालाप्छो मेरा लङगुर वा मिङमाला मध्ये कम्तीमा पनि एउटा साहसिक बाटो लगभग ५५०० मिटरमम्मको पास गर्नै पर्ने हुन्छ । प्राय हिमपात भएको अवस्थामा उक्त भाज्याङ क्रस गर्न नसकी धेरै विदेशी पर्यटकहरुलाई हेलिकप्टरबाट उद्वार गरिन्छ भने प्राय खुम्बु क्षेत्रमा टे्रकिङमा मर्ने भरियाहरु उक्त क्षेत्रमा नै मर्ने गर्दछन् । यही जोखिमपुर्ण यात्राकै कारणले यस क्षेत्रका पर्यटन कामदारहरुलाई अन्यभन्दा दुईगुणा पारिश्रमिक दिने गरिन्छ । यी जोखिमपुर्ण यात्राका भावजुट पनि वर्षेनी हजारौ पर्यटकहरु उक्त क्षेत्रमा जाने गर्दछन् । पर्यटकीय समयमा उक्त भाज्याङ कुनै बाक्लो बस्ती भएको सहरभन्दा कम्तीको हुदैन । फाप्लुबाट शुरु गरेर छेस्कामको पिचिरिम खोटोङखर्क मुद्वि वातेल्मा माङगनदोवान हुदै उक्त भाज्याङसम्म नयाँ पर्यटन पदमार्गको विकास गर्न सकिने सम्भावना रहेकोछ । यही सम्भावनालाई मध्यनगर गरेर विगत तीन वर्षदेखि जिल्ला विकास समिति सोलुखुम्बुले उक्त पर्यटन पदमार्ग खन्ने कार्य प्रारम्भ गरेको छ । यद्यपी न्युन बजेटको कारणले उक्त कार्य प्रभाकारी हुन सकिरहेको छैन । मुद्विबाट करिब ४५ किलोमिटर खन्नुपर्ने उक्त बाटो पुरा खनिएमा छेस्काम बुङ सोताङ पावै देउसा मुक्ली नेचा हुदै सडक यातायातमार्फत पनि उक्त मार्ग जोड्न सकिने सम्भावना रहेको छ ।

२.१.१ फाप्लु मेरा पदमार्गको आवश्यकता तथा महत्व: यस पदमार्गको विकास गर्न सकिएमा लुक्ला र तुम्लिङटारबाट मेरा मिङमाला आमालाप्छो र शेर्पेनीकोल पास गरेर आउने पर्यटकहरु यस पदमार्ग हुदै सोलुखुम्बुको फाप्लु काँगेल वा खोटाङको लामीडाँडा हावाईमैदान हुदै काठमाण्डौं फर्कन सक्नेछन् । जसले गर्दा जिल्लाको दक्षिणी भेगमा पनि पर्यटनको विकास बढ्नुका साथै आर्थिक विकास पनि हुदै जानेछ । यसबाहेक उक्त सेतीपोखरी भाज्याङबाट हिमालहरु क्रस गर्न नसक्नेहरुले यस मार्ग भएर फर्कदा कुनै हिमाल क्रस गर्न नपेर्ने भएकोले यो बाटोलाई सुरक्षित अवतरणको बाटोको रुपमा पनि चिनाउन र विकसित गर्न सकिन्छ । त्यस्तै यही बाटो हुदै जाने पर्यटकहरुले आमालाप्छो क्रस गरेर गएमा सगरमाथा लगायतका हिमालहरु पनि हेर्न सक्नेछन् । यस्तो अवस्थामा यो बाटो सोलुखुम्बुको दक्षिणी क्षेत्रबाट शुरु भई हिमालीक्षेत्रसम्म जोड्ने हुनाले यस मार्गलाई साँस्कृतिक तथा पर्वतारोहण पर्यटन पदमार्गको रुपमा समेत चिनाउन सकिनेछ ।

२.१.२ यस पदमार्ग निर्माणका अवसर: नेपाल सरकारले वि.स.२०५८ मा नै पर्वतिय प्रक्षिक्षण प्रतिष्ठान ऐन २०५८ जारी गरी पर्वतीय प्रशिक्षण प्रतिष्ठानको स्थापना गरेको छ । यस प्रतिष्ठानको मुख्य कार्यालय सोलुखुम्बुको गार्मा गा. वि.समा रहेकोछ । देशको त्रिवर्षिय अन्तरिम योजना २०६३-२०६६ मा यस प्रतिष्ठानलाई अन्तराष्ट्रिय पर्वतिय प्रशिक्षण केन्द्रको रुपमा विकास गरिने कुरा उल्लेख छ । उक्त प्रतिष्ठानको स्थापना भएपछि सडकमार्ग हुदै गार्मा आएका विदेशी पर्यटकहरु उक्त बाटो भएर सगरमाथासम्म जान सक्नेछन् । यसरी जाने पर्यटकहरुले एकैसाथ सोलुखुम्बुको दक्षिणी भेगका आदिवासी जनजातिहरुको सास्ंकृतिक अवस्था र पर्वतारोहण एकै साथ गर्न पाउनेछन् ।
२.१.३ यस पदमार्ग निर्माणका चुनौतिहरु: यस पदमार्गको विकास भएमा सोलुखुम्बुको बुङ गुदेल छेस्काम सोताङ पावै देउसा मुक्ली नेचा गार्मा लगाएतका दक्षिणी क्षेत्रका अधिकाशं गाविसहरु हुदै पर्यटन पदयात्रा तय गर्न सकिन्छ । जसले गर्दा छेस्कामको मात्र नभएर अन्य गाविसहरुमा समेत पर्यटनको विकास मार्फत आर्थिक विकास हुने सम्भावना रहेको छ । यद्यपी हाल यस पदमार्गको निमार्ण कार्य ती सवै गाविसहरुको साझासवालको विषयको रुपमा उठ्न सकिरहेको छैन् । केवल छेस्कामको नाममा आएको सानो बजेट मात्र लगानी गरिदैछ । यसले गर्दा मुद्धिबाट खन्दै लगिएको बाटो सेती पोखरीसम्म पुर् याउन नसकिएमा हाल सम्मको जि वि सको लगानिको समेत अर्थ रहने छैन् । छेस्कामले मात्र यो सवाल उठाउने हो भने यो बाटो निमार्ण गर्न धेरै समय लाग्नेछ अथवा नवन्ने सम्भावना पनि रहन्छ ।

२.२ लामीडाँडा सेतीपोखरी पदमार्ग: खोटाङको लामीडाँडा हवाई मैदानबाट शूरु गरेर सोलुखुम्बुको साल्पा भाज्याङ हुदै गुदेल बुङ सोताङ देउसा भएर फाप्लु र काँगेलडाँडा विमान स्थाल सम्मको बाटो सामान्यतया बनिसकेको अवस्थामा छ । तर यो मार्ग मुलतः ग्रामिण पर्यटनको लागि मात्र उपयुक्त रहेकोछ । संखुवासभा भोजपुर र सोलुखुम्बुको विचमा अवस्थित साल्पा पोखरीबाट भकारी छिरुवा कोङखो भुकुर डाँडा भैसीरी मेकटो केन्पा हुदै सेतीपोखरीसम्मको नयाँ पर्यटन पदमार्ग विकास गर्न सकेको अवस्थामा यसले हिमाली पर्यटनको सम्भावना बढ्नेछ । स्थानीय चौरी,भेडा गोठालाहरुले यस भेग हुदै नयाँ पर्यटन पदमार्गको सम्भावना रहेको तर्क गर्दछन् । यो पदमार्गको प्रमुख विशेषता नै करिब २७०० मिटरदेखि ४२०० मिटरसम्मको हिमाली श्रृंखला हुदै डाँडैडाडा यात्रा तय गर्नु हो । यी पहाडी श्रृंखलाहरुबाट अनगिन्ती हिमालहरुको मनोरम दृष्य हेर्न सकिन्छ ।
२.२.१ लामीडाँडा सेतीपोखरी पदमार्गका प्रमुख आर्कषण केन्द्रः यस पर्यटन पदमार्ग अन्र्तगत सोलुखुम्बु संखुवासभा र भोजपुरको बिच सिमानामा पर्ने साल्पा पोखरी नजिक करिव ४२०० मि। उचाईको शिलुछो पिक पर्दछ । साल्पा पोखरीबाट उक्त पिक पुग्न करिव दुई घण्टा लाग्दछ । यस पिक चढ्न सामान्य किसिमको बाटो रहेकोछ । बर्षेर्नी उक्त साल्पा पोखरीमा वर माग्न जाने तिर्थयात्रीहरु उक्त पिकमा समेत वर माग्ने गर्दछन । उक्त पिकबाट सगरमाथा मकालु दुधकुण्ड लगायत २२ वटा भन्दा बढी हिमालहरु देख्न सकिने भएकोले उक्त पिकलाई भविष्यमा Mountain view center को रुपमा पनि विकास गर्न सकिन्छ ।

२.३ हुर्हुरे नौलेख पदमार्ग:सोलुखुम्बु बुङको छाराखर चलेम हुर्हुरे खोलाखर्क हुदै नौलेखसम्मको नयाँ पर्यटन पदमार्ग पनि कम प्रचार प्रसार र उचित लज तथा होटलको अभावले ओझेलमा परेकोछ । त्यस्तै छेस्कामबाट बगालेदेउराली पाँचपोखरी हुदै पनि उक्त मार्गमा जोड्न सकिन्छ । बुङ गा।वि।सको पहलमा जिल्ला विकास समिति सोलुखुम्बुले विगत तीन वर्षयता यस बाटो मर्मतमा सानो लगानी गरिरहेको छ ।

३. पर्यटन पदमार्ग विकासका रणनीतिहरु: माथी उल्लेख गरिएका सम्भाब्य पर्यटन पदमार्गको विकास गर्न विभिन्न रणनीतिहरु तय गरि कार्यान्वयन गर्न सकिन्छ । मुख्यतया कसरी कस्तो रणनीति तय गर्ने भन्ने कुरा उपलब्ध मानवीय प्राविधिक र आर्थिक श्रोतहरुमा पनि भर पर्दछ । यद्यपी सामान्यतया यस प्रकारको पर्यटन पदमार्ग विकासका लागि निम्न रणनीतिहरु कार्यान्वयन गर्नु उपयुक्त हुनेछ ।

३.१ सर्वेक्षणको चरण (stage of survey): यस चरणमा माथी उल्लेख गरिएका तीनवटै सम्भाव्य पदमार्गहरुको सम्भाब्यता सर्वेक्षण अध्ययन गरी एक प्रतिवेदन तयार गरिन्छ । प्रतिवेदनभित्र क्याम्पिङ राख्ने ठाँउ पानीको उपलब्धता रमणीय द्रष्य ताल हिमाल धार्मिक स्थल आदिको अवस्था र विवरण समावेश हुनुका साथै उक्त क्षेत्र घुम्न लाग्ने समय तथा बाटो बनाउन लाग्ने प्राविधिक तथा आर्थिक लागत समेत समावेश गरिएको हुनेछ । उक्त सर्वेक्षण प्रतिवेदनको आधारमा थप श्रोत जुटाउन सकिनेछ ।

३.२ श्रोतको खोजी तथा योजना कार्यान्वयन:सर्वेक्षण प्रतिवेदनको आधारमा आर्थिक तथा प्राविधिक लागत समेत समावेश गरी विभिन्न दातृनिकाय सरकार र सरोकारवालाहरुसंग उक्त बाटो निर्माण गर्न आवश्यक श्रोतको लागि मागहरु पेश गरी निर्माण योजना कार्यान्वयन गर्न सकिन्छ । यस्ता निकायहरुमा सरकारको तर्फबाट जि।वि।स तथा गा।वि।स राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालय आदि हुन सक्नेछ । यसबाहेक विभिन्न दातृनिकाय गैरसरकारी तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई पनि यस क्षेत्रमा लगानी गर्न गराउन पहल गर्न सकिनेछ ।

३.३ प्रचारप्रसारको चरण: यस चरणमा निर्माण भएर पनि कम चल्ने वा चल्दै नचल्ने पदमार्गको बारेमा विभिन्न साचार माध्यमहरुबाट प्रचार प्रसार गर्न सकिन्छ । यस्ता साचार माध्यमहरुमा एफ एम रेडियो इमेल इन्टरनेट आदिको प्रयोग गर्न सकिन्छ । यसबाहेक नेपाल पर्वतारोहण संघ पर्वतारोहण महासंघ टान नेपाल पर्यटन बोर्ड लगायतका पर्यटन व्यावसायीहरु र सरोकारवालाहरुसंगको गोष्ठी तथा सेमिनार समेत आयोजना गरेर यस पदमार्गको बारेमा प्रचारप्रसार गर्न सकिन्छ । त्यस्तै आवश्यकता अनुसार उचित पर्यटन महोत्वसको पनि आयोजना गर्न सकिन्छ ।




No comments:

Post a Comment