Sunday, May 15, 2016

कमजोर भौतिक पूर्बाधारले नेपालमा थोरै पर्यटक

 वागमान कुलुङ
वार्षिक ५ करोड ५० लाख भन्दा बढी पर्यटकहरुले चीनको भ्रमण गर्छन् भने २ करोड ६० लाखको हाराहारीले भारतको भ्रमण गर्छन् । मलेशिया बार्षिक २ करोड ७४ लाखले र थाईल्याण्ड २ करोड ६० लाखले भ्रमण गर्छन् तर नेपाल भने बल्ल बार्षिक ८ लाखले मात्र भ्रमण गर्छन् । कारण किन ? थोरै पर्यटक नेपाल आउने प्रमुख दुई कारणहरुमा नेपालको कमजोर अन्र्तराष्ट्रिय हवाई सञ्जाल र काठमाडौं आईपुगेका पर्यटकहरु गन्तब्यमा पुग्न भौतिक संरचनाको अभाव प्रमुख कारण रहेका छन् । यस लेखमा भने काठमाडौं आईपुगेका पर्यटकहरुको लागि गन्तब्यसम्म पुग्न भौतिक संरचनाको अभावबारे चर्चा गरिएको छ ।
मुख्यतया पर्यटकहरु हिमाल चढ्न र हेर्न नेपाल आउने हुन् तर नेपालको सबै हिमाली भुभागहरु घुम्न बिदेशी पर्यटकहरुले अपर ग्रेट हिमालयन ट्रेलको यात्रा गर्न सक्नुपर्ने हुन्छ । पाँच हजारदेखि ६ हजार १ सय ९० मिटरसम्मका १० वटा हिमाली भञ्ज्याङहरु पार गर्न सक्ने शर्तमा उक्त ग्रेट हिमालयन ट्रेल करिब ५ महिनाको यात्रा हो । जबकी युरोपियन ट्राभल एजेन्सीहरुले युरोपका २६ वटा भन्दा बढी देशहरु तीन महिनामा घुमाउने अफर गरिरहेका छन् । तर यी हिमाली भञ्ज्याङहरु पार गर्न नसक्नेहरुले एक वर्षमा पनि नेपालको सबै हिमाली भुभागहरुको नजिकबाट अवलोकन गर्न सक्दैनन् । यसको प्रमुख कारण भौतिक पूर्बाधार विकासको अभाव हो जसले हाम्रो हिमाली पर्यटकीय क्षेत्र सबैको पहुँचभन्दा टाढा बनाईरहेको छ । यसकारण ग्रेट हिमालयन ट्रेलको सहज पँहुच बनाउने पूर्बाधारको दिगो बिकासबिना नेपालको पर्यटन बजारले संसारका सुविधा सम्पन्न पर्यटकीय गन्तब्यहरुसंग प्रतिष्पर्धा गर्न सक्ने छैन ।
के हो ग्रेट हिमालयन ट्रेल ?
एसियाका देशहरु पाकिस्तान, चीन, भारत, नेपाल, भुटान र म्यानमारका उच्च हिमश्रृखलाहरु हुदै करिब ४,५०० कि.मि. लामो हिमाली पर्यटन पदमार्गको परिकल्पना ‘ग्रेट हिमालयन टे्रल’ हो । उच्च हिमश्रृखलाहुदै हिमाली यात्रा र मध्य पहाडी मार्ग हुदै ‘ग्रिन ग्रेट हिमालनय ट्रेल’ को नामले साँस्कतिक धार्मिक तथा प्राकृतिक पर्यटनको विकासको लागि यो मार्गको अवधारणा ल्याईएको हो । विश्वका आठ हजारभन्दा माथिको १४ वटै हिमालहरुको काखहुदै तय गरिने यो यात्रा संसारकै सबैभन्दा साहसिक, रमणीय र लामोदुरीको हुने अनुमान गरिएको छ । म्यानमारको हिमश्रखलाबाट शुरु हुने यो हिमाली पदमार्ग भुटानी हिमश्रखलाहुदै भारतको अरुणााचल, सिक्किम, दार्जिलिङ भएर नेपालको कञ्चनजंगा क्षेत्र प्रवेश गर्दछ । नेपालको कलचनजंगाबाट विश्वको पाँचौ हिमशिखर मकालु आधारशिविर हुदै वेष्टकोल ६,१९० मि., शेर्पेनीकोल ६,१३५मि. र आम्फुलाप्चा ५,८०० मि पास गरेर सोलुखुम्बुको नाम्चे आईपुग्छ । नाम्चेबाट गौरीसंकर क्षेत्रमा ५,७१७ मिटरको टासिलाप्चा, मनास्लु क्षेत्रमा ५,१५० मिटरको लर्केपास र ५,४१६ मिटरको थोरोङला पास, त्यस्तै डोल्पा मुगुक्षेत्रमा ५,५५० मिटरको जुङबेनला पास, ५,३७८ मिटरको छानला पास, ५,१९० मिटरको नुमाला पास र ५,५०० मिटरको च्र्यागोला पासपछि दार्जुला हुदै तिब्बतको बर्वा भन्ने ठाँउमा यो पदमार्गको अन्त हुन्छ । नेपालमा भने यस पदमार्गको लम्बाई करिब १,७०० कि.मि. रहेको छ ।
ग्रेट हिमालयन ट्रेलका भौगोलिक कठिनाईहरु
काठमाण्डौंबाट चरिकोटहुदै गंगुरखोलासम्म बसमा गएर सजिलै दोलखाको छो–रोल्पा ताल पुगिन्छ । उक्त ठाँउबाट ५,७१७ मिटरको टासिलाप्चा भञ्ज्याङ पार गर्न सकियो भने २ दिनमै थामे हुदै सोलुखुम्बुको नाम्चे बजार पुगिन्छ । तर हिमाल आरोहण गर्ने टिम बाहेक अन्यको लागि यो असम्भव कार्य हो । यस्तो अवस्थामा उनीहरु जुन भञ्ज्याङभित्रको हिमाली श्रृखलाहरुको द«ष्यावलोकन गरेर गएका हुन्छन् त्यही श्रृखलाहरुको दोहोरो अवलोकन गर्दै चरिकोट फर्कनुपर्ने बाध्यता छ । त्यसपछि उसलाई खुम्बु उपत्यकाको नाम्चेक्षेत्र पस्न इच्छा भए जिरी, लुक्ला, भएर थामे पुग्नुपर्ने हुन्छ, जसको लागी उसले कम्तिमा थप २२ दिन खर्चनुपर्ने हुन्छ । थामेबाट छिकुङसम्मका खुम्बु उपत्यका भित्रका हिमश्रृखलाहरुको द«ष्यावलोकन गरेर फेरी त्यही पर्यटकले सेतीपोखरीहुदै हुंगा उपत्यका भित्र प्रवेश गरेर बरुञ्जे, मेरा, चाम्लाङ जस्ता अरु चर्चित हिमालहरुको दृष्यावलोकन गर्नु परे उसले अर्को ५,८०० मिटर उचाईको आम्फुलाप्चा भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ । त्यो पनि टासिलाप्चा जस्तै सबै पर्यटकहरुको पहँुचमा छैन । उसले सो भञ्ज्याङ पार गर्न नसके थप एक महिना लगाएर नाम्चे, लुक्ला, कोठे, नौलेख, खहरे हदै त्यस भञ्ज्याङभित्र प्रवेश गर्नुपर्ने हुन्छ । सोही तरिकाले हुंगा उपत्यकाबाट विश्वको पाँचौ हिमशिखर मकालु लगायतका अन्य हिमालहरु हेर्न अरुण उपत्यका प्रवेश गर्दा ६,१३५ मिटरको शेर्पेनीकोल र ६,१९० मिटरको वेष्ट कोल भञ्ज्याङ पार गर्नुपर्ने हुन्छ ।
फेरी यो दुई भञ्ज्याङहरु पनि सबै पर्यटकहरुको पहुँचमा छैन । यस्तो बेला यी भञ्ज्याङहरु पार गर्न नसक्नेले फर्केर नौलेख, कोठे, बुङ, साल्पा, तुम्लिङटार हुदै अर्को ४५ दिनको यात्रा गरेर अरुण उपत्यकामा प्रवेश गर्नुपर्ने हुन्छ । यी चारवटा भञ्ज्याङहरुको भौगोलिक कठिनाई गे्रट हिमालयन ट्रेलका सबै ५ हजार उचाईभन्दा माथिका १० वटै भञ्ज्याङहरुमा भोग्नुपर्ने भौगोलिक कठिनाईका प्रतिनिधी उदाहरणहरु हुन् । नेपालमा अपर ग्रेट हिमालयन ट्रेलका यी १० वटा कठिन भञ्ज्याङहरु विभिन्न नदीहरुले सिर्जना गरेका प्रत्येक दुई उपत्यकाहरुलाई जोड्ने भञ्ज्याङहरु हुन । जस्तै शेर्पेनीकोल भञ्ज्याङले अरुण उपत्यका र हंगा उपत्यकालाई जोड्छ । आम्फुलाप्चा भञ्ज्याङले हंगा उपत्यका र खुम्बु उपत्यकालाई जोड्छ भने टासिलाप्चा भञ्ज्याङले दोलखाको तामाकोशी उपत्यका र खुम्बु उपत्यका जोड्ने काम गर्दछ । फरक सामाजिक परिवेश र फरक भौगोलिक परिवेशका एक दर्जन भन्दाबढी महत्वपुर्ण हिमाली पर्यटकीय गन्तब्यहरुलाई सामान्य मानिसहरुले बिना तयारी पार गर्न नसक्ने यी १० वटा भञ्ज्याङहरुले सक्दो टाढा बनाउने काम गरेको छ । भौतिक पुर्बाधारको विकासले ती भञ्ज्याङहरुलाई सहज नबनाएसम्म नेपाली पर्यटनमा नयाँ आयाम थपिने छैन । यहाँ ति पुर्बाधारमध्ये दुईवटा पुर्बाधारको चर्चा गरिएको छ ।
फ्रान्स र स्वीजरल्याण्डबिच हेउट समेनीका हिमाली केबलकार
फ्रान्स र स्वीजरल्याण्डबिच हेउट समेनीका हिमाली केबलकार

तिब्र गतिमा सडक यातायातको विकासः
ग्रेट हिमालयन ट्रेलका यी १० वटा कठिन भञ्ज्याङहरुले बिभाजन गरेका हिमाली उपत्यकाहरुमा हाल धेरथोर सडक यातायात जोडिन खोजिदैछ । सबै गा.वि.समा सडक यातायात पु¥याउने सरकारी नीति साकार भयो भने आगामी दशकभित्र नाम्चेबजारदेखि थामेतिर सडक आउनुपर्ने हो, नाम्चेदेखि ट्याङबोचे हुदै छिकुङसम्म सडक जानु पर्ने हो, दोलखाको चरिकोटदेखि छोरोल्पासम्मको सडक पिच हुनु पर्ने हो वा डोल्पा र मुगुका यी कठिन भञ्ज्याङहरुतिर कच्ची सडक पुगिसकेको हुनुपर्ने हो । यही दशकमा यो सम्भव नहोला तर पक्का कुरा के हो भने आगामी केही दशकभित्र ढिलोचाडो उक्त सबै हिमाली उपत्यकाहरुमा गाडी गुड्छ नभए गुडाउनुपर्छ । जति चाडो उक्त हिमाली उपत्यकातिर सडक यातायात जोडिन्छ, त्यति नै छिटो नेपालका हिमाली पर्यटकीय क्षेत्रमा विश्वका पर्यटकहरुको सहज पहँुचको बृद्वि भई नेपालमा पर्यटकको संख्या बढ्ने छ । सडक यातायातको अभावले संसारका थुप्रै हिड्न नसक्ने तर नेपालको हिमाली क्षेत्र हेर्न चाहनेहरु हाम्रो सडक विकासको प्रतिक्षामा छन् ।
हिमाली केबलकारको योजना निर्माणः
भविष्यमा अपर ग्रेट हिमालयन ट्रेलका हिमाली उपत्यकाहरुमा सडक यातायात पुगे पनि यी ट्रेलका कठिन भञ्ज्याङहरुले उक्त एक दर्जन हिमाली उपत्यकाहरुलाई फेरी पनि आवतजावतमा सहज बनाउने छैन । यसलाई सहज बनाउन हिमाली केबलकारहरु बनाउन जरुरी छ । यस्ता केबलकारहरु बिकसित देशहरुका हिमाली पर्यटनक्षेत्रमा हिमाल चढ्न समेत बनाईएका छन् । स्वीजरल्याण्ड र फ्रान्सको बीचमा अवस्थित हेउट हिमाली क्षेत्रका हिमाली श्रृखलाहरुको दृष्यावलोकन गर्न त्यहाँ केबलकार चढ्न सकिन्छ भने ब्राजिलको सुगरलफ हिमाली क्षेत्रमा पनि यस्ता केबलकार बनाईएका छन् । हेउटमा सन् १९२४ मा बनाइएका यही केबलकारको सुविधाले २०१२ मा लोनली प्लानेटले गरेको सर्वेक्षणमा संसारको नवौं राम्रो ट्रेकिङ क्षेत्रको रुपमा स्थापित भएको थियो । ३ एस गोन्दोला लिफ्ट प्रविधी प्रयोग गरेर स्विस् कम्पनी र डोप्पलमेयर गडाभेन्टा ग्रुप अस्ट्रिया लगायतका थुप्रै अन्र्तराष्ट्रिय कम्पनीहरुले संसारभरी यस्ता ठाँउहरुमा केबलकार र रोपवेहरु निर्माण गरिरहेका छन् । डोप्पलमेयर ग्रुपले २००५ मा अष्ट्रियामा किजबुहेल ३ एस केबल कार नामको एउटा केबल कार आयोजना सम्पन्न गरेका थिए ।
जमिनको सतहदेखि ४०० मिटर अग्लो, ३६४२ मिटर लामो र १९ वटा क्याबिन भएको यो केबल कारले ४०० किलोवाट बिद्युत खपत गर्ने कुरा उल्लेख गरिएको छ । यो केबलकारको एउटा क्याबिनमा २४ जना मानिसहरु एकैचोटी बस्न सक्छन् भने यसले प्रति घण्टा ३२०० मानिसहरु ओर्साने काम गर्दछ । कम्पनीले यो परियोजना जम्मा एक करोड ३५ लाख युरोमा सम्पन्न गरेको थियो । हुन त यती धेरै पर्यटकहरु हाम्रो हिमाली भञ्ज्याङहरुमा ओसार्नु पक्कै पनि पर्दैन । ठाँउ बिषेश, प्रविधी र केबलकारको क्षमताले पनि लागतलाई प्रभाव पार्छ नै । यद्यपी यस परियोजनालाई मात्र आधार मान्ने हो भने करिब १० वटा परियोजनाको लागि चार मेघावाट बिद्युत र १५ अर्ब लगानी चाहिन्छ । यो हिमाली केबलकारको विकासपछि एउटा भञ्ज्याङबाट यात्रा शुरु गरेर पर्यटकहरुको समय र योजना अनुसार दोस्रो, तेस्रो देखि दशौं भञ्ज्याङसम्म पार गरेर सकाउने थुप्रै पर्यटन पदमार्गहरु सृजना हुनेछ । यस स्तरको भौतिक विकासबिना नेपालको पर्यटनले अन्र्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्नेछैन । तराई र पहाडमा महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग जोडिए जस्तै हिमाली क्षेत्र जोड्ने हिमाली केबलकारको विकासमा हिमाली जिल्लाहरु एक हुन आवश्यक छ । किनभने यसले संसारका पर्यटकीय क्षेत्रसंग हाम्रो पर्यटन बजारले प्रतिपर्धा गर्न सक्छ ।
This article was published in Shikhar post. To see the original article click here 

No comments:

Post a Comment